काठमाडौं । नेपाली कथानक सिनेमा ‘लोकन्ती’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । आगामी मंसिर २६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने सिनेमाको ‘लाजै नमानी’ बोलको गीत सार्वजनिक गरिएको हो ।
आइतबार सार्वजनिक सिनेमाको रोमान्टिक गीतमा सिनेमाका मुख्य कलाकार कुमार न्यौपाने र विमला लिम्बु फिचर्ड छन् । यो गीतमा मेलिना राई र नारायण थापाको स्वर रहेको गीतमा शंकर अधिकारी ‘घायल’को शब्द रचना तथा विकास चौधरीले संगीत छ ।
काजी लिम्बुले कथा लेखेको ‘लोकन्ती’लाई निर्देशक रञ्जित रानाले पूर्ण पारिवारिक ड्रामाको रूपमा पेश गरेका छन् । सिनेमामा अभिनेता एसराज गराच मुख्य भूमिका छ । काभ्रे जिल्लाका वास्तविक र प्राकृतिक लोकेशनमा छायांकन गरिएको ‘लोकन्ती’ले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदना उजागर गर्नेछ ।
कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता सन्तोष न्यौपाने हुन् । एसराजसहित ऋचा थापा, विमला लिम्बु, कुमार न्यौपाने, विकाश अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभात लगायत कलाकारको मुख्य भूमिका रहेको छ । यो सिनेमाबाट कुमार न्यौपाने र विकाश अधिकारीले अभिनयमा डेव्यु गरेका हुन् ।
सिनेमामा विकास चौधरीको संगीत, रोनिश तामाङ (च्याङ्बा)को छायांकन, अशोक रोक्काको मेकअप र गौतम राज खड्काको समपादन छ । नेपाली संस्कृतिमा आधारित भावनात्मक तथा सामाजिक कथा बोकेको ‘लोकन्ती’ले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ ।

