Logo
20 Jan 2026    ७ माघ २०८२, मंगलवार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

नागढुंगा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

Reporter

सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुंगा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैलाई केही दिन पहिले आमन्त्रण गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको थियो । निर्माण व्यवसायी र सम्बन्धित आयोजनाले सवारीसाधन निरन्तर आवतजावत हुँदा सडक निर्माणले गति लिन नसकेको बताएका थिए ।

ट्राफिक व्यवस्थापन गरी सडक निर्माणलाई गति दिने लक्ष्यका साथ यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र धादिङले संयुक्त रूपमा सडक बन्द हुने सूचना प्रकाशित गरेको छ ।

त्रिभुवन राजपथको नागढुंगा नौबिसे सडक खण्ड कालोपत्र गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ । सोही क्रममा उक्त सडकको काठमाडौँ जिल्ला भित्र पर्ने नागढुंगा पिप्ला मोड खण्ड कालोपत्र उच्च प्राथमिकताका राखिएको छ । सो सडक खण्ड अन्यत्र भन्दा साँघुरो भएको र कालोपत्रका लागि एकै पटकमा धेरै गह्रौँ उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने हुन्छ । यसैगरी धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरे भिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने आयोजनाले जनाएको छ ।

सूचना अनुसार नागढुंगा देखि पिप्ला मोडसम्म र पोखरे भिर क्षेत्रमा यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म बिहान  १०:३० बजेदेखि अपराह्न ३:३० बजेसम्म सडक आवागमन बन्द हुनेछ । सो समयमा वैकल्पिक सडक प्रयोग गरिदिन तथा आफ्नो यात्रा समयलाई सो समय भन्दा अगाडी वा पछाडि व्यवस्थापन गर्न सूचनामा आग्रह गरिएको छ ।

सो समयमा काठमाडौँबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुंगा  चेकपोस्टमा रोकिनेछ । सूचनामा अत्यावश्यकीय प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शव वाहन जस्ता सवारीसाधनको आवागमन ट्राफिक प्रहरीबाट सहजीकरण हुने जनाइएको छ ।

मुग्लिङबाट काठमाडौँ तर्फ जाने सवारी साधन खानी खोला (नौबिसे), जुंगेखोला (थाक्रे), गल्छी–गजुरी खण्डको लागि गल्छी, बैरेनी र मास टारमा रोकिनेछ । साना तथा मझौला सवारीसाधनले अत्यावश्यक अवस्थामा वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन् । सूचना अनुसार सीतापाईला भिमढुंगा,रामकोट  धार्के सडक, सामाखुसी टोखा–छहरे सडक वैकल्पिक रूपमा प्रयोग गर्न सकिने छ ।

रोकिएका सबै सवारीसाधनलाई अपराह्न ३:३० बजेपछि मात्र छाडिने सूचनामा उल्लेख छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको