नयाँ भन्सार ऐनका विभिन्न प्रावधानमा असहमति जनाउँदै देशभर पेनडाउन गरिरहेका भन्सार एजेन्टहरू र भन्सार विभागबीच सहमति भएको छ।
भन्सार विभागमा भएको दुई पक्षीय वार्तामा भन्सार एजेन्टहरूले रोकेको काम सुरू गर्ने सहमति भएको हो।
भन्सार एजेन्ट महासंघले एजेन्टहरूका माग सम्बोधनका विषय सरकारले सकरात्मक रूपमा लिएको भन्दै सहमति गरिएको र रोकिएको काम सुरू गरिएको जानकारी दिएको छ।
यसअघि एजेन्ट महासंघ र भन्सार विभाग बीच मंगलबार पनि वार्ता गरिएको थियो।
‘उहाँहरुको मागहरू हामीले सुन्यौ। भन्सार विभागको तर्फबाट गर्न सकिने सहजीकरण हुन्छ। दुई पक्षीय सहमतिसँगै भन्सार अवरोध खुलेको छ,’ भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले भने।
शनिबारदेखि कार्यान्वयनमा आएको नयाँ भन्सार ऐनमा दण्ड–जरिवाना कडा हुनु, कागजात तथा प्रक्रिया सम्बन्धी व्यवस्थाहरू अव्यवहारिक भएको कारण देखाउँदै उनीहरूले मंगलबार बिहानदेखि सबै कार्यालयमा काम रोक्का गरेका थिए।
भन्सार एजेन्ट महासंघको आह्वानमा जाँचपास ठप्प भएपछि आयात–निर्यात कार्यमा ठूलो असर परेको छ।

