कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित सिएमजी क्यासिनो फेरि विवादमा परेको छ। क्यासिनो सञ्चालकहरूले भारतीय ग्राहकप्रति गरेको कुटपिटको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएपछि व्यवस्थापनको व्यवहारप्रति कडा रोष व्यक्त गरिएको छ।
प्राप्त जानकारीअनुसार ग्रेटर नोएडाका होटल व्यवसायी विष्णु केसी, देहरादूनका होटल व्यवसायी सुरेन्द्र पाण्डे तथा उनीहरूसँग रहेका अर्का एक ग्राहक नेपालबाट आएको भ्रमण क्रममा क्यासिनो पुगेका थिए। ती सबैले टिकट खरीद गरेर प्रवेशद्वारसम्म पुगे पनि क्यासिनो स्टाफले कुनै स्पष्ट कारणबिना भित्र छिर्न रोकिदिएको आरोप छ।
प्रवेशमा रोक लगाइएको विषयमा ग्राहकहरूले कारण सोध्नासाथ विवाद चर्किएको र सोही विवाद कुटपिटमा परिणत भएको पीडित पक्षको दाबी छ। भाइरल भिडियोमा क्यासिनो कर्मचारीहरूले धक्का–मुक्का गर्दै ग्राहकमाथि आक्रमण गरिरहेको दृश्य स्पष्ट देखिन्छ। उक्त दृश्य सार्वजनिक भएपछि भारत–नेपाल दुवै तर्फबाट क्यासिनो व्यवस्थापनप्रति प्रश्न उठेका छन्।
पीडितहरूले उचित टिकट लिएर पनि प्रवेश अस्वीकृत गरिएको र विरोध जनाउँदा बाहिरै तानेर कुटपिट गरिएको दाबी गरेका छन्। घटनापछिपीडितहरूले स्थानीय प्रहरीसमक्ष उजुरी दर्ता गराएको बताइएको छ।
नेपालस्थित क्यासिनोहरूमा विगतयता दुर्व्यवहार, अव्यवस्था र सुरक्षा कमजोरीका घटनाहरू दोहोरिन थालेका बेला महेन्द्रनगरको यस घटनाले पुनः सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उठाएको विशेषज्ञहरूको टिप्पणी छ। सामाजिक सञ्जालमा सर्वसाधारणले क्यासिनो व्यवस्थापन तथा स्थानीय प्रशासनले तत्काल कारबाही गर्नुपर्ने माग गर्दै कडा प्रतिक्रिया व्यक्त गरिरहेका छन्।

