पोर्चुगलमा दर्ता भई सक्रिय रूपमा कार्यरत प्रवासी नेपालीहरूको छाता संगठन गैरआवासीय नेपाली संघ (NRNA)–पोर्चुगलले पोर्चुगलको आप्रवासन तथा एकीकरणसम्बन्धी प्रमुख निकाय AIMA मा रहेर नेपालीहरूलाई पछिल्लो समय परेको समस्या समाधानका लागि एक महत्वपूर्ण तथा औपचारिक पहल अघि सारेको छ।
नेपालीहरू विशेषगरी Temporary Residence (TR) प्रक्रियामा अत्यन्त जटिलता, ढिलासुस्ती र अस्पष्टतामा परिरहेकाले सोही विषयमा ध्यानाकर्षण गराउन संघले मिति १० डिसेम्बर २०२५ का दिन नेपाल दूतावास, लिस्बनमा औपचारिक ज्ञापनपत्र बुझाएको हो।
AIMA प्रक्रियाबाट प्रत्यक्ष प्रभावित नेपालीहरूको गुनासोलाई आत्मसात् गर्दै NRNA पोर्चुगलका अध्यक्ष सुजन लामा मोक्तानको नेतृत्वमा ठूलो सङ्ख्यामा प्रभावित व्यक्तिहरूको हस्ताक्षर संकलन गरी दूतावासमा ज्ञापनपत्र पेश गरिएको थियो। TR प्रक्रियामा पछिल्लो समय सबैभन्दा धेरै समस्या प्रहरी चारित्रिक प्रमाणपत्र (Police Clearance Certificate – PCC) को प्रमाणीकरणसम्बन्धी अवस्थामा देखा परिरहेको छ।
नेपालीहरूले पहिले नै शुल्क तिरेर बनाएको PCC मा सानो त्रुटि भएमा पुनः प्रमाणीकरण गर्नुपर्ने र त्यही क्रममा कहिले शुल्क लाग्ने, कहिले नलाग्ने जस्तो अन्योल उत्पन्न हुँदै आएको थियो। यसले आप्रवासन प्रक्रिया समयमै अघि बढाउन कठिनाइ पुर्याइरहेकाले संगठनले यस विषयमा स्पष्ट, लिखित र स्थायी समाधान खोज्ने उद्देश्य राखेर दूतावाससँग प्रत्यक्ष पहल गरेको थियो।
ज्ञापनपत्र बुझाईसकेपछि दूतावासका प्रथम सचिव राम बाबु नेपालले यस संवेदनशील विषयमा दूतावासले आवश्यक समन्वय तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै, पहिले नै शुल्क तिरेर बनाएको PCC मा सामान्य त्रुटि देखिएमा त्यसलाई पुनः प्रमाणीकरण गर्दा कुनै पनि अतिरिक्त शुल्क नलिइने र भविष्यमा पनि यस्ता अवस्थामा शुल्क नलिइने स्पष्ट जानकारी संघलाई गराएका छन्।
यही स्पष्टिकरणले लामो समयदेखि PCC समस्यामा अल्झिरहेका नेपालीहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ। दूतावासले संस्थागत रूपमा आएको यस्तो सामूहिक पहलले सम्बन्धित निकायहरूसँग छलफल र दबाब सिर्जना गर्न सहज हुने र यसको सकारात्मक परिणाम आउने विश्वास समेत व्यक्त गरेको छ।
कार्यक्रमका क्रममा दूतावासले NRNA पोर्चुगल, प्रभावित नेपाली समुदाय तथा सरोकारवाला सबैसँग मिलेर यो विषयलाई दीर्घकालीन रूपमा समाधान गर्न दूतावास निरन्तर तयार रहने बतायो।
AIMA–TR प्रक्रियामा नेपालीहरूले सामना गरिरहेको ढिलासुस्ती, अस्पष्ट जानकारी, कागजी प्रक्रिया र PCC जस्ता प्राविधिक समस्याहरू समाधान गर्न आगामी दिनमा दूतावास, NRNA पोर्चुगल र पोर्चुगली निकायबीच नियमित समन्वय, संवाद र सहकार्य निरन्तर जारी रहने जानकारी पनि दिइयो।
ध्यानाकर्षण कार्यक्रममा सहभागी भएका सबै नेपालीहरूलाई प्रथम सचिव नेपालले धन्यवाद दिँदै प्रवासी नेपालीहरूको हक–अधिकार र सेवा–सुविधाका विषयमा दूतावास सधैं सकारात्मक रूपमा उभिन तयार रहने आश्वासन दिएका छन्।
त्यस्तै, NRNA पोर्चुगलले पनि समुदायका समस्यालाई संस्थागत रूपमा सम्बोधन गर्दै भविष्यमा थप प्रभावकारी पहल गर्दै जाने प्रतिबद्धता जनाएको छ।

