राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) ले पाँच फोटो पत्रकारहरूलाई सम्मान गरेको छ ।
समूहले आफ्नो २८औँ वार्षिक साधारणसभाका अवसरमा आइतबार (पुस ६) विभिन्न क्षेत्रमा योगदान गर्ने फोटो पत्रकारलाई सम्मान गरेको हो ।
कार्यक्रममा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ पाँच विधामा प्रदान गरिएको थियो। जसमा ‘साहसिक फोटो पत्रकारिता सम्मान’ नवीनबाबु गुरुङ, ‘पर्यावरण–पर्यटन फोटो पत्रकारिता सम्मान’ उद्धव श्रेष्ठ, ‘मनोरञ्जन फोटो पत्रकारिता सम्मान’ सुवास मुखिया सुनुवार, ‘सांस्कृतिक फोटो पत्रकारिता सम्मान’ चन्द्रकला क्षेत्री तथा ‘खेलकुद फोटो पत्रकारिता सम्मान’ शंकर भुजेललाई प्रदान गरिएको छ।
त्यसैगरी, पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाद्वारा स्थापित ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार–२०८२’ फोटो पत्रकार संस्थाका सचिव प्रवीन कुलुङ राईलाई प्रदान गरियो भने ‘संस्थागत एनएफपीजे प्रेसिडेन्ट अवार्ड–२०८२’ संस्थाका उपाध्यक्ष सुनिल शर्मालाई प्रदान गरिएको थियो ।
ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले समाजमा सबैले सबैभन्दा सजिलो छिटो बुझ्ने भाषाका रूपमा फोटोग्राफीलाई लिन सकिने बताए । उनले यसलाई प्रकृति, प्रविधि र संस्कृतिसँग समायोजन गरेर लैजानुपर्ने धारणा राखे ।
कार्यक्रममा एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्षभित्र सञ्चालन गरिने कार्यक्रम तथा संस्थाले अवलम्बन गरेका रणनीतिहरूबारे जानकारी गराए ।

