सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ स्थायी घर भएका २५ वर्षीय केशवराज हायुको ललितपुरमा हत्या प्रकरणबारे अनुसन्धान गरिरहेको प्रहरीले उनका साथीको पनि शव फेला पारेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, लतिलपुरको टोलीले सोमबार बिहान लतिलपुरको लाकुरी भन्ज्याङ जंगलमा भोजपुर स्थायी घर भएका पारुहाङ राईको शव पारेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीले शव बरामद गरिएको पुष्टि गरेका छन् ।
यसअघि प्रहरीले हायुको हत्यामा उनकै ज्वाइँलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो । उनीसहित पक्राउ परेका दुई जनाले पारुहाङसमेतको मिलेमतोमा हत्या भएको दाबी गर्दै आएका थिए ।
प्रहरीका अनुसार, दुवै जना वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका थिए ।
हायुको शव लुभुमा रहेको एक कृषि फार्मको इनारमा फ्याँकेको अवस्थामा भेटिएको थियो ।
पारुहाङ पनि सोही फर्ममा काम गर्दै आएका थिए ।

