आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण बनाउन सरकारले प्रमुख राजनीतिक दलहरूसँग वार्ता र संवादलाई तीव्रता दिएको छ । आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचन सफल बनाउन सरकार नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीसहितका दलसँग चरणबद्ध छलफलमा जुटेको हो ।
यसै सिलसिलामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनील सिंहको संयोजकत्वमा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले मङ्गलबार प्रमुख तीन दलका केन्द्रीय कार्यालयको अनुगमन गर्दै दलका नेताहरूसँग प्रत्यक्ष संवाद गरेको छ । समितिमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सहभागी थिए ।
समितिले सानेपास्थित नेपाली कांग्रेस, ललितपुरको च्यासलमा रहेको नेकपा (एमाले) र पेरिसडाँडास्थित नेपाली कम्युनिष्ट पार्टीको कार्यालय पुगेर गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएका क्षतिको विवरण संकलन गर्नुका साथै निर्वाचनको वातावरण बनाउने विषयमा छलफल गरेको हो । मन्त्री सिंह र मन्त्री खरेलले दलहरूले उठाएका मागप्रति सरकार गम्भीर रहेको र संवादमार्फत समाधान खोजिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तीनवटै दलसँगको संवादपछि सञ्चारमन्त्री खरेलले निर्वाचनको वातावरण बनाउन गरिएको वार्ता उपलब्धिमूलक रहेको बताउँदै सरकारले इमान्दारीपूर्वक निर्वाचन गराउन चाहेको स्पष्ट सन्देश प्रवाह भएको जनाए । “यो राजनीतिक दललाई सकारात्मक दबाब हो । हामी चुनाव चाहन्छौँ र त्यसको तयारी गरिरहेका छौँ भन्ने स्पष्ट सन्देश हो,” उनले भने ।
नेपाली कम्युनिष्ट पार्टीको कार्यालय अवलोकनका क्रममा सो पार्टीका नेताहरूले संसद् पुनःस्थापनाभन्दा निर्वाचनमै जानुपर्ने स्पष्ट धारणा राखेको जानकारी दिँदै मन्त्री खरेलले जेनजी आन्दोलनका माग सम्बोधन नभए थप जटिलता आउन सक्ने चेतावनीसमेत दलले दिएको बताए ।
पेरिसडाँडामा भएको छलफलपछि मन्त्री सिंहले आन्दोलनका क्रममा फरार अधिकांश कैदीबन्दी पक्राउ परिसकेको र लुटिएका हतियारसमेत बरामद भएकाले संगठित अपराधको जोखिम नरहेको तथा निर्वाचनको वातावरण बन्दै गएको विश्वास व्यक्त गरे । “चुनावको विकल्प छैन । संविधानको मर्मअनुसार प्रतिनिधिसभा निर्वाचनमार्फत अघि बढ्नुपर्छ,” उनले भने ।
यसैबीच, मङ्गलबार नै राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बैठक भएको थियो । उक्त बैठकले फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण बनाउने समझदारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

