Logo
20 Jan 2026    ७ माघ २०८२, मंगलवार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाइँदै

Reporter

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ श्रद्धा, उत्साह र उमंगका साथ मनाइरहेका छन् ।

विश्वासअनुसार दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्म भएका येशु ख्रीष्टले मानव जातिलाई मुक्ति, प्रेम र शान्तिको सन्देश दिएको विश्वास गरिन्छ ।

नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सिबी गहतराजका अनुसार येशु ख्रीष्टले मानव समाजलाई तीन मुख्य खुसी—मुक्ति, प्रेम र शान्ति—दिएको मान्यताअनुसार क्रिश्चियन समुदायले क्रिसमसलाई प्रेम दिवस, शान्ति दिवस र मुक्ति दिवस का रूपमा मनाउँदै आएको छ । मानिसलाई प्रेम गर्न सिकाउन आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र पापबाट मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा यो दिन मनाइने गरिएको उनले बताए ।

विश्वका धेरै देशमा व्यापक रूपमा मनाइने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि नेपाल ख्रिष्टियन महासंघले औपचारिक महोत्सवका रूपमा मनाउन थालेको अध्यक्ष गहतराजको भनाइ छ ।

महासंघ मूल समारोह समितिको आयोजनामा आज दिउँसो ‘क्रिसमस महोत्सव २०८२’ आयोजना गरिएको छ । महोत्सवमा सरकारका प्रतिनिधि, विभिन्न सरोकारवाला निकायका अधिकारी, मानवअधिकारकर्मी तथा क्रिश्चियन समुदायका अगुवाहरूको उपस्थिति रहने जनाइएको छ ।

क्रिसमस डे का अवसरमा नेपालमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि पुनः सबै नागरिकलाई सार्वजनिक बिदा दिइँदै आएको छ ।

पछिल्लो समय नेपालका प्रमुख सहरका मुख्य स्थानहरू क्रिसमस ‘ट्रि’ र झिलिमिली बत्तीले सजाउने परम्परा बढ्दै गएको छ । विशेषगरी पर्यटकको आवागमन बढी हुने ठमेल, बौद्ध, पोखरा, सौराहा लगायतका क्षेत्रहरूमा क्रिसमसको रमझम बढी देखिने गरेको छ ।

नेपाल ख्रिष्टियन महासंघको दाबीअनुसार हाल नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च रहेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको