रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सर्वसाधारणका निम्ति निष्कासन गरेको प्राथमिक साधारण सेयर (आईपीओ)मा लगानीकर्ताहरूको अत्यधिक सहभागिता रहेको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस निष्कासनमा अन्तिम दिनसम्मको तथ्यांकअनुसार मागभन्दा करिब ३२.९९ गुणा बढी कित्ताका लागि आवेदन परेको छ ।
उक्त आईपीओ पुस ७ देखि ११ गतेसम्मका लागि खुलाइएको थियो । कम्पनीले सर्वसाधारणका लागि कुल ९ लाख २४ हजार ७६८ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । उक्त आईपीओ खुलेको पाँच दिन अर्थात् बन्द हुँदासम्म कुल तीन करोड पाँच लाख चार हजार ८०० कित्ताका लागि आवेदन परेको छ । उक्त आवेदन पाँच लाख ८३ हजार ८९६ जना आवेदकबाट परेको हो ।
सीडीएस एन्ड क्लियरिङ हाउसको बेलुका ५ बजेको तथ्यांकअनुसार आईपीओमार्फत कुल २५ अर्ब तीन करोड ८३ लाख ३९ हजार ८४० रुपैयाँबराबरको रकम संकलन भएको छ ।
मागभन्दा अत्यधिक बढी आवेदन परेका कारण धेरै आवेदकहरू सेयर प्राप्त गर्नबाट वञ्चित हुने देखिएको छ । किनभने रिलायन्स स्पिनिङ मिल्सको एक कित्ता सेयरका लागि झन्डै ३३ कित्ताको माग गरेका छन् । सेयर बाँडफाँट गोलाप्रथामार्फत गरिने भएकाले थोरै संख्यामा रहेका भाग्यशाली लगानीकर्ताहरूले मात्र सेयर हात पार्ने देखिन्छ ।
सीडीएस एन्ड क्लियरिङ हाउसको तथ्यांकअनुसार कम्पनीले सर्वसाधारणका लागि नौ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गरेकोमा एकै दिनमा ५.८ गुणा बढी आवेदन परेको छ । पहिलो दिन सोमबार मात्र कुल ५३ लाख ९८ हजार १०० कित्ताका लागि आवेदन परेको छ । उक्त आईपीओ एक लाख ९१७ जनाले आवेदन दिएका हुन् । आईपीओमार्फत हालसम्म चार अर्ब ४३ करोड सात लाख ६० हजार ४८० बराबरको आवेदन परेको छ ।
नेपालको सबैभन्दा ठूलो रोजगारदाता र निर्यातकर्ता कम्पनी रिलाइन्स स्पिनिङ मिल्सको सेयर मूल्य प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा तय गरिएको थियो । यसअनुरुप प्रतिव्यक्ति न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था थियो । लगानीकर्ताले न्यूनतम ५० कित्ता मात्रै आवेदन गर्दा पनि कम्तीमा ४१ हजार ४० रुपैयाँ आवश्यक पर्न आउँछ ।

