Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

एन.सि.सि. एलुमनाई एसोसिएशन नेपालको आठौँ वार्षिकोत्सव सम्पन्न

Reporter

काठमाडौं । राष्ट्रिय सेवा दल, नेपालबाट प्रशिक्षित पूर्व विद्यार्थीहरूको संस्था एन.सि.सि. एलुमनाई एसोसिएशन नेपालको आठौँ वार्षिकोत्सव प्रधान सेनापति महारथी  अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा  २०८२ पौष १३ गते विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति सिग्देलले राष्ट्रप्रति समर्पित, अनुशासित, नैतिकवान्, इमानदार तथा कर्तव्यनिष्ठ नागरिक उत्पादनमा राष्ट्रिय सेवा दल, नेपालको उल्लेखनीय भूमिकाको प्रशंसा गर्नुभयो। साथै, एन.सि.सि. एलुमनाई एसोसिएशन नेपालसँग आबद्ध सबै पदाधिकारी तथा सदस्यहरूले राष्ट्र र समाजका लागि पुर्‍याउँदै आएको योगदानको कदर गर्दै वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा एन.सि.सि. एलुमनाई एसोसिएशन नेपालका केन्द्रीय निर्देशक  पवन कोइरालाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने राष्ट्रिय सेवा दल, नेपालका कार्यकारी महा–निर्देशक उपरथी  याम प्रसाद ढकाल (अ.प्रा.)ले धन्यवाद मन्तव्य राख्नुभयो।

सो अवसरमा बलाधिकृत, बलाध्यक्ष, केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय निर्देशकहरू, देशभरका एन.सि.सि. एलुमनाई एसोसिएशन नेपालका पदाधिकारीहरू, प्रधानाध्यापक, समन्वय शिक्षक, क्याडेट छात्र–छात्रा तथा प्रशिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको आकर्षणका रूपमा एन.सि.सि. क्याडेट छात्र–छात्राहरूले विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए।

वि.सं. २०२२ मा स्थापना भएको राष्ट्रिय सेवा दल, नेपालबाट प्रशिक्षित पूर्व विद्यार्थीहरूको साझा संस्थाका रूपमा वि.सं. २०७५ मा एन.सि.सि. एलुमनाई एसोसिएशन नेपाल स्थापना भएको हो। हाल देशका ७५ जिल्लामा राष्ट्रिय सेवा दलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ। राष्ट्रिय सेवा दलले वार्षिक रूपमा करिब ७ हजार ५०० जनालाई तालिम प्रदान गर्दै आएको छ भने हालसम्म ८६ हजारभन्दा बढी छात्र–छात्राहरूले सिनियर तथा जुनियर डिभिजन तालिम सफलतापूर्वक सम्पन्न गरिसकेका छन्।

राष्ट्रप्रति समर्पित, अनुशासित, नैतिकवान्, इमानदार र कर्तव्यनिष्ठ नागरिक तयार गर्ने महान उद्देश्यका साथ प्रशिक्षित करिब ८६ हजार एन.सि.सि. क्याडेटहरूको साझा पहिचान बनेको एन.सि.सि. एलुमनाई एसोसिएशन नेपालको आठौँ वार्षिकोत्सव प्रेरणादायी र ऐतिहासिक रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

कार्यक्रमले “राष्ट्र पहिले” भन्ने मूल्यलाई थप सुदृढ गर्दै देशप्रेम, नेतृत्व, अनुशासन र सेवाभावले ओतप्रोत युवाहरूलाई एकताबद्ध गर्ने सन्देश दिएको सहभागीहरूको भनाइ छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको