टिकटकमा एकअर्काको धर्म तथा संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीको विषयलाई लिएर मधेश प्रदेशमा तनावको अवस्था सिर्जना भएको छ। धनुषामा सुरु भएको घटनाको प्रभाव पर्साको वीरगञ्जसम्म देखिएको छ।
धनुषा र पर्सासहित मधेश प्रदेशका आठै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ। एक उच्च सुरक्षा अधिकारीका अनुसार ‘संवेदनशील परिस्थिति’ उत्पन्न भएकाले सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको हो।
केही दिनअघि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नामका दुई युवाले टिकटकमा हिन्दुस्तानको नाम उल्लेख गर्दै एक भिडियो पोस्ट गरेका थिए। उक्त भिडियो धार्मिक सहिष्णुतामा खलल पुग्ने खालको रहेको भन्दै स्थानीय अगुवाहरूले दुवै युवालाई प्रहरीको जिम्मा लगाएका थिए।
इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल भइरहेको क्रममा उनीहरूलाई पक्राउ गरिएको खबर फैलिएपछि केही युवाहरू आक्रोशित भएका थिए। सोही क्रममा एक मस्जिदमा आक्रमणसमेत भएको थियो।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार मस्जिद आक्रमणमा संलग्न व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ। हाल स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको र अवस्था निगरानीमा राखिएको प्रहरीले जनाएको छ।

