लण्डनस्थित नेपाली दूतावासले बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढ्दै गएको भन्दै नेपाली नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।
दूतावासले जारी गरेको विज्ञप्तिमा कामका लागि प्रायोजक (Sponsor) खोजिदिने आश्वासन दिँदै नेपालीहरूलाई ठगी गर्ने गुनासोहरू बढिरहेको जनाइएको छ । यस्ता ठगीका घटनामा नेपालबाट बेलायत आउन चाहने व्यक्तिहरू बढी प्रभावित भएको दूतावासको भनाइ छ ।
त्यसैगरी, बेलायतमै रहेर रोजगारीको खोजीमा रहेका केही नेपालीसमेत ठगीमा परेको गुनासो बढ्दै गएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “ठगी गर्नेहरू कतिपय नेपाली मूलका व्यक्ति नै रहेको बुझिएको छ भने चिनजानकै नेपालीमार्फत तेस्रो मुलुकका व्यक्तिसँग सम्पर्क गराइ ठगीमा परेको गुनासो पनि प्राप्त भएका छन् ।”
दूतावासले यस्ता गतिविधि नेपाल र बेलायत दुवै मुलुकको कानुनअनुसार दण्डनीय अपराध भएकाले समस्या परेमा नेपालका सम्बन्धित अनुसन्धान निकाय तथा बेलायतमा स्थानीय प्रहरी र नेसनल एन्टी–फ्रड नेटवर्क (Action Fraud) मा उजुरी दिन आग्रह गरेको छ ।
बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले प्रमाणसहित दूतावासमा आउने पीडितहरूको न्यायका लागि आवश्यक सहजीकरण गर्न दूतावास सधैं तयार रहेको बताएका छन् ।

