जेनजी आन्दोलनका क्रममा भएको राज्य दमन र त्यसपछि भएका तोडफोड तथा हिंसाका घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले बयान संकलनको चरण औपचारिक रूपमा सम्पन्न गरेको छ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबाट लिखित वक्तव्य प्राप्त भएसँगै आयोग अब प्रतिवेदन तयारीमा केन्द्रित हुने भएको छ।
आयोगको टोली बयानका लागि पत्र लिएर भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेको थियो। ओलीले सहजै पत्र बुझेका मात्र होइन, सोही टोलीलाई आफ्नो लिखित जवाफ पनि बुझाएका हुन्। यसअघि आयोगप्रति अविश्वास जनाउँदै उपस्थित नहुने बताएका ओलीले भने आइतबार पुल्चोकस्थित मानवअधिकार आयोगमा भने स्वयम् उपस्थित भएर करिब साढे दुई घण्टा बयान दिएका थिए।
ओलीले मानवअधिकार आयोगमा मौखिक बयान दिए पनि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई भने लिखित जवाफ मात्रै दिएका छन्। आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माका अनुसार जेनजी आन्दोलनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका अधिकांश सरोकारवालाको बयान संकलन भइसकेको छ।
“केही सीमित व्यक्ति बाहेक सबैको भनाइ लिइसकेका छौं। अझै पनि कोही आफ्नो भनाइ राख्न चाहनुहुन्छ भने आयोग खुला छ,” शर्माले बताए।

