नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीले प्रधानमन्त्री कार्कीसँग करिब तीन घण्टा लामो ‘वान टु वान’ वार्ता गरेका हुन् ।
प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार ओली बिहान ११ बजे बालुवाटार पुगेका थिए । उनी आफ्ना स्वकीय सचिव राजेश बज्राचार्यलाई मात्र साथमा लिएर प्रधानमन्त्री निवास पुगेका थिए । चुनाव नजिकिँदै गरेको सन्दर्भमा दुई नेताबीच एक्लै लामो संवाद भएको हो ।
भदौ २३ को जनेजी आन्दोलनपछि केपी शर्मा ओली बालुवाटारबाट विस्थापित भएका थिए भने त्यसपछि सुशीला कार्की प्रधानमन्त्री बनेकी थिइन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा पुस ८ गते प्रधानमन्त्री कार्कीसँग ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शीतल निवासमा पहिलोपटक संयुक्त भेटवार्ता भएको थियो ।
जनेजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्की सुरुका केही महिनासम्म तीन शीर्ष नेताहरूसँग भेट गर्न अनिच्छुक देखिएकी थिइन् । तर, यसले चुनावी वातावरण नबन्ने भन्दै आलोचना बढेपछि उनी भेटवार्तामा तयार भएकी थिइन् ।
शीतल निवासको भेटपछि बालुवाटारमै नियमित संवाद गर्ने सहमति बनेको थियो । सोही सहमतिअनुसार पुस १२ गते प्रधानमन्त्री कार्कीसँग देउवा, ओली र प्रचण्डले बालुवाटारमा त्रिपक्षीय वार्ता गरेका थिए ।

