नेपाली कांग्रेस संस्थापन पक्षले पार्टी एकतालाई बचाउनका लागि संयमता अपनाउन देशभरका पार्टीपंक्ति समक्ष आह्वान गर्ने निर्णय गरेको छ।
शुक्रबार काठमाडौँमा बसेको संस्थापन पक्षको भेलाले विशेष महाधिवेशनका नाममा पार्टीभित्र उल्झन सिर्जना गर्न खोजिएको निष्कर्ष निकाल्दै एकतालाई बचाउनका लागि संयमता अपनाउन आह्वान गर्ने निर्णय गरेको हो।
पार्टीमा देखिएको दुई धारले पार्टी कमजोर हुने र कमजोर कांग्रेस, विभाजित कांग्रेसले लोकतन्त्र र राष्ट्रियता धान्न नसक्ने भएकाले सचेत रहन देशभरिका नेता तथा कार्यकर्तालाई आह्वान गर्ने निर्णय गरेको केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए।
अहिले राष्ट्रिय अस्मितामाथि पनि काला बादल मडारिने संकेत देखिएकाले त्यतातिर पनि ध्यान दिएर पार्टी एकता जोगाउनुपर्ने उनले बताए। बरालले मुठभेड नभई एकताका लागि बल पुगोस् भनेर नेता कार्यकर्ताको भेला आयोजना गरिएको उल्लेख गरे।
केन्द्रीय सभापति र केन्द्रीय नेतृत्व फेरेर मात्र सबै समस्याको समाधान नहुने भन्दै उनले परिवर्तित परिस्थितिअनुसार तहल्लो तहदेखि नेता–कार्यकर्तालाई पार्टीमा जोडेर ल्याउनुपर्ने धारणा राखे।
उनले पार्टीभित्र देखिएको दुईवटै मतहरूलाई तालमेल गरेर समायोजनको बिन्दुको प्रयास जारी रहेको बताए। मध्य बिन्दुको प्रस्ताव अझै बाँकी रहेकाले सशक्त कांग्रेस निर्माण गरेरै छाड्ने उनको भनाइ छ।

