पूर्वराजा ज्ञानेन्द्र शाहले झन्डै दुई दशकअघि दलहरूको चाहनाअनुसार आफू राजकाजबाट बाहिरिएको स्मरण गर्दै अहिले देशले सामना गरिरहेको संकटले आफू चिन्तित भएको बताएका छन्।
शनिबार राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा जारी गरिएको भिडियो सन्देशमा पूर्वराजा शाहले शान्ति, आर्थिक प्रगति र स्थायित्वको प्रतिबद्धतासहित सत्तामा पुगेका दलहरूको आग्रहअनुसार श्रीपेच जनताकै सुरक्षित संरक्षित निकायमा बुझाएर सहयोगी नियतका साथ राजकाजबाट अलग भएको बताएका हुन्।
उनले भने, “नारायणहिटी राजदरबारबाट हामी बाहिरिएको करिब दुई दशक बितिसक्दा पनि देशले सामना गर्नुपरेको संकटले हामीलाई चिन्तित तुल्याएको छ।”
पूर्वराजा शाहले देशको वर्तमान अवस्थाप्रति निराशा व्यक्त गर्दै अब देश नै नरहने हो कि भन्ने चिन्ता पैदा भएको बताए। साथै, नेताहरूका भाषण र जादुले मात्र देश निर्माण सम्भव नहुने उनको टिप्पणी थियो।
पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै पूर्वराजा शाहले आधुनिक नेपाललाई चार वर्ग, ३६ जातको साझा फूलबारीका रूपमा परिकल्पना गरिएको उल्लेख गरे। उनले यो मुलुक राजाको मात्र नभई जनता र राजाको समान स्वामित्वको देश भएको सन्देश पृथ्वीनारायण शाहले दिएको बताए।
अन्त्यमा उनले सबै नेपालीलाई आफ्नो कर्तव्यबोध गर्दै ‘पृथ्वीपथ’मा लाग्न आह्वान समेत गरे।

