काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा परेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको पार्टी एकताको प्रयास असफल भएपछि घिसिङ ‘न घरको न घाटको’ अवस्थामा पुगेको उनको दाबी छ।
बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रवि लामिछानेको भरोसामा पर्दा घिसिङले मन्त्री पद र समानुपातिक सांसदको उम्मेदवार बन्ने अवसर दुवै गुमाएको उल्लेख गरेका छन्। उनले रवि लामिछानेको राजनीतिलाई ‘माकुराको जालो’ सँग तुलना गर्दै, एकपटक त्यसमा परेपछि उम्किन कठिन हुने टिप्पणी गरेका छन्।
उनको भनाइमा नेकपा एमाले र नेपाली कांग्रेसजस्ता स्थापित दलहरू ‘चराहरू’ जस्ता हुन्, जसमा त्यस्ता जालो तोड्ने क्षमता छ, तर कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहजस्ता नयाँ पात्रहरू ‘पुतली’ सरह भएकाले सजिलै फस्ने गरेका छन्। अन्तर्राष्ट्रिय शक्तिहरूले बुनेको राजनीतिक जालोमा परेर कुलमान घिसिङ अन्धकारतिर धकेलिएको उनको तर्क छ।
‘केही महिनाका लागि अस्थायी मन्त्री पद प्राप्त भयो, तर त्यसको मूल्यमा राजनीतिक भविष्य नै समाप्त भयो,’ बस्नेतले लेखेका छन्। उनले कुलमान घिसिङको अवस्थालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै अब मेयर बालेन शाहको पालो आउन सक्ने चेतावनीसमेत दिएका छन्।
पार्टी एकताको नाममा रवि लामिछानेले कुलमानलाई प्रयोग गरेर बिचल्लीमा पारेको र समानुपातिक उम्मेदवार दर्ता गर्ने समयसमेत घर्किएको बस्नेतको जिकिर छ। सामाजिक सञ्जालमा चर्चित व्यक्तित्वहरू अन्ततः दीर्घकालीन राजनीतिक रूपमा सफल नहुने संकेत गर्दै उनले स्थापित दलहरूको संगठनात्मक शक्ति नै नेपालको वास्तविक राजनीतिक तागत भएको दाबी गरेका छन्।

