Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

इरानमा उग्र विरोध प्रदर्शनः अस्पतालहरू घाइतेले भरिए, कडा दमनको चेतावनी

Reporter

इरानमा जारी सरकारविरोधी प्रदर्शन तीव्र बन्दै जाँदा सुरक्षा निकायले कडा चेतावनी जारी गरेका छन् । प्रदर्शनका क्रममा घाइतेहरूको संख्या बढ्दै गएपछि तेहरानसहित विभिन्न शहरका अस्पतालहरू गम्भीर दबाबमा परेका छन् । बीबीसीसँग कुरा गरेका दुई अस्पतालका स्वास्थ्यकर्मीका अनुसार तेहरानको प्रमुख आँखा अस्पताल फराबी ‘संकटको अवस्थामा’ पुगेको छ । एक चिकित्सकका अनुसार राजधानी तेहरानमै मात्र कम्तीमा २१७ जनाको मृत्यु भएको दाबी गरिएको छ ।

अर्को अस्पतालका स्वास्थ्यकर्मीले अत्यधिक घाइतेका कारण उपचारका लागि पर्याप्त शल्यचिकित्सकसमेत नभएको बताएका छन् । देशका दर्जनौँ शहरमा फैलिएको विरोध प्रदर्शनबीच बिहीबार साँझदेखि इरानभर इन्टरनेट लगभग पूर्ण रूपमा बन्द गरिएको छ । यसले घटनाको यथार्थ जानकारी सङ्कलन गर्न कठिन बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यद्यपि, स्टारलिङ्क स्याटेलाइट इन्टरनेटमार्फत एक इरानी डाक्टरले बीबीसीलाई सम्पर्क गर्दै आपतकालीन सेवामाथि असह्य दबाब परेको बताएका छन् ।

अत्यावश्यकबाहेकका शल्यक्रिया स्थगित गरिएको र थप स्वास्थ्यकर्मी परिचालन गरिएको छ । दक्षिणपश्चिमी शहर शिराजको एक अस्पतालबाट प्राप्त भिडियो तथा अडियो सन्देशमा पनि ठूलो संख्यामा घाइते ल्याइरहेको र धेरैको टाउको तथा आँखामा गोली लागेको दाबी गरिएको छ । मानव अधिकार संस्थाहरूका फरक–फरक तथ्यांक अनुसार प्रदर्शन सुरु भएदेखि कम्तीमा ५० भन्दा बढी प्रदर्शनकारी र १५ सुरक्षाकर्मी मारिएका छन् ।

२ हजार ३ सयभन्दा बढी व्यक्तिहरू पक्राउ परेका छन् । नर्वेस्थित ‘इरान मानव अधिकार’ संस्थाले नौ बालबालिकासहित कम्तीमा ५१ प्रदर्शनकारी मारिएको जनाएको छ भने बीबीसी फारसीले २६ जनाको मृत्यु पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा पनि चासो बढेको छ । संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले जनधनको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दै शान्तिपूर्ण विरोधको अधिकारको सम्मान गर्न आग्रह गरेका छन् ।

फ्रान्स, बेलायत र जर्मनीका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै इरानी अधिकारीहरूलाई अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला सुनिश्चित गर्न आह्वान गरेका छन् । यसैबीच, इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले टेलिभिजन सम्बोधनमार्फत कडा अडान दोहोर्‍याउँदै ‘विनाशकारी तत्वहरूसँग कठोर रूपमा व्यवहार गरिने’ चेतावनी दिएका छन् । सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले पनि प्रदर्शनकारीहरूलाई ‘सशस्त्र दंगाकारी’ भन्दै निर्णायक कानुनी कारबाही गरिने स्पष्ट पारेका छन् ।

अर्कोतर्फ, अमेरिकाले इरानको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान ‘ठूलो समस्या’मा रहेको टिप्पणी गर्दै हिंसा बढे कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जालमार्फत ‘इरानी जनताको समर्थन’ व्यक्त गरेका छन् । तर, इरानी राजनीतिक कार्यकर्ता तागी रहमानीले विदेशी समर्थनप्रति शंका व्यक्त गर्दै बाह्य हस्तक्षेपले आन्दोलनको विश्वसनीयता कमजोर पार्न सक्ने बताएका छन् । विश्लेषकहरूका अनुसार हालका प्रदर्शनहरू पहिलेभन्दा फराकिला र तीव्र भए पनि संगठित नेतृत्वको अभावले यसको भविष्य अनिश्चित देखिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको