Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

संस्थापनको असहमतिकै बीच कांग्रेसको विशेष महाधिवेशन, भृकुटीमण्डपमा शक्ति प्रदर्शन

Reporter

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि आइतबार बिहानैदेखि देशका विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिहरू भृकुटीमण्डपमा भेला हुन थालेका छन्। महाधिवेशनस्थलमा बिहानदेखि नै उल्लेख्य चहलपहल देखिएको छ भने प्रतिनिधिहरूको उत्साहले वातावरण तातिएको छ।

महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी रहेको छ। भृकुटीमण्डप परिसरमा स्थापना गरिएका दर्ता स्टलहरूमा लाइन लागेर नाम दर्ता गराउनेको भीड देखिएको छ। आयोजक समितिका अनुसार दर्ता प्रक्रिया व्यवस्थित रूपमा अघि बढिरहेको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आयोजना हुन लागेको यस विशेष महाधिवेशनमा करिब ६० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने आयोजक पक्षको दाबी छ। पार्टी विधानको धारा १७ (२) अनुसार ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिको हस्ताक्षर संकलन भएपछि विशेष महाधिवेशन आह्वान गरिएको आयोजकहरूको भनाइ छ।

विशेष महाधिवेशनमा सहभागी हुन प्रतिव्यक्ति एक हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ। महाधिवेशनको उद्घाटन सत्र आइतबार दिउँसो १ बजे हुने कार्यक्रम तय गरिएको छ। उद्घाटनअघि काठमाडौं उपत्यकाका छ विभिन्न स्थानबाट र्‍याली तथा जुलुस निकाल्दै प्रतिनिधिहरू भृकुटीमण्डपमा भेला भइरहेका छन्। र्‍यालीमा पार्टीका झण्डा, नाराहरू र गीत–संगीतसहितको उत्साहजनक सहभागिता देखिएको छ।

यद्यपि, पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले यस विशेष महाधिवेशनलाई औपचारिक मान्यता नदिने स्पष्ट गरेको छ। संस्थापन पक्षले नियमित १५ औँ महाधिवेशनको मिति तय भइसकेकाले विशेष महाधिवेशन आवश्यक नभएको तर्क गर्दै आएको छ। यस विषयलाई लिएर पार्टीभित्र मतभेद सतहमा देखिएको छ।

यस विशेष महाधिवेशनबाट पार्टी नेतृत्वमा परिवर्तन, नीति तथा कार्यदिशाको पुनरावलोकन, संगठनात्मक संरचनामा सुधार र आगामी राजनीतिक रणनीतिबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ। भृकुटीमण्डपमा देखिएको भीड, उत्साह र सक्रियताले नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिक सरगर्मी थप चर्किएको संकेत गरेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको