Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

‘बत्ती जान थाल्यो’ भन्दै उपभोक्ता चिन्तित, प्राधिकरण भन्छ समाधान हुँदैछ

Reporter

काठमाडौँ । पाटन, स्युचाटार, बालाजुलगायत काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा पछिल्ला दुई दिनदेखि बेलुकीको समयमा विद्युत् आपूर्ति बारम्बार अवरुद्ध हुन थालेपछि उपभोक्ताबाट गुनासो बढ्दै गएको छ। यस विषयलाई गम्भीर रूपमा लिँदै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले समस्या पहिचान गरी तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

उपभोक्ताबाट लगातार गुनासो आउन थालेपछि कार्यकारी निर्देशक शाक्यले स्थलगत निरीक्षणका साथै सरोकारवाला प्राविधिक तथा व्यवस्थापन तहका कर्मचारीसँग छलफल गरेका छन्। उनले बिहीबारदेखि नै समस्या समाधानका लागि निरन्तर पहल भइरहेको जानकारी दिएका छन्।

शुक्रबार बिहान करिब १० बजे शाक्य आकस्मिक निरीक्षणका लागि नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा पूर्व लगनखेल वितरण केन्द्र र जावलाखेल वितरण केन्द्र पुगेका थिए। निरीक्षणका क्रममा उनले त्यहाँको प्राविधिक अवस्था, लोड व्यवस्थापन र उपभोक्ता गुनासोको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका थिए।

यसअघि बिहीबार राति अबेरसम्म भार प्रेषण केन्द्र स्युचाटारमा ग्रिड तथा माथिल्लो तहका प्राविधिक कर्मचारीसँग बैठक बसेर उनले समस्या किन दोहोरिन थालेको हो भन्ने विषयमा विस्तृत छलफल गरेका थिए। उक्त छलफलमा उनले सम्भावित प्राविधिक कमजोरी, उपकरणको क्षमता, लोड प्रेसर र वितरण प्रणालीमा देखिएका असन्तुलनबारे विश्लेषण गर्दै तत्काल समाधानको उपाय खोज्न निर्देशन दिएका हुन्।

कार्यकारी निर्देशक शाक्यले भने,
‘पछिल्लो समय विशेषगरी पाटन, स्युचाटार र बालाजु क्षेत्रमा बत्ती जाने–आउने समस्या आएको भन्दै उपभोक्ताबाट गुनासो बढ्न थालेपछि यसको जड पहिचान गरी समाधान गर्ने उद्देश्यले म स्वयं भार प्रेषण केन्द्र र ग्रिडमा बसेर प्राविधिक टोलीसँग छलफलमा सहभागी भएको हुँ।’

उनले नेपाल विद्युत् प्राधिकरणको ध्यान केवल विद्युत् आपूर्ति निरन्तर दिनुमा मात्र नभई गुणस्तरीय र स्थिर विद्युत् सेवा प्रदान गर्नुमा केन्द्रित रहेको स्पष्ट पारे। साथै, कहिलेकाहीँ देखिने सामान्य प्राविधिक समस्याका कारण अनावश्यक रूपमा नआत्तिन उपभोक्तालाई आग्रह गर्दै, समस्या देखिए तत्काल समाधानका लागि प्राधिकरण सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

प्राधिकरणका अनुसार जाडो मौसम बढेसँगै हिटर, एसी, गिजरलगायत विद्युतीय उपकरणको प्रयोग बढ्ने हुँदा विद्युत् मागमा उल्लेख्य वृद्धि हुने गरेको छ। यस्तो अवस्थामा वितरण प्रणालीमा बढी लोड पर्न जाँदा कहिलेकाहीँ सामान्य प्राविधिक समस्या देखिन सक्ने बताइएको छ। यद्यपि, ती समस्यालाई समयमै समाधान गर्दै विद्युत् आपूर्तिलाई स्थिर राख्ने प्रयास भइरहेको प्राधिकरणको भनाइ छ।

नेपाल विद्युत् प्राधिकरणले हालको अवस्था लोडसेडिङको संकेत नभएको स्पष्ट पार्दै, बत्ती जाने–आउने समस्यालाई लोडसेडिङसँग जोडेर आशंका नगर्न सबै उपभोक्तालाई आग्रह गरेको छ। प्राधिकरणले दीर्घकालीन रूपमा वितरण प्रणाली सुदृढीकरण र लोड व्यवस्थापन सुधार गर्ने कामलाई पनि प्राथमिकतामा राखेको जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको