दाङ । माघी पर्व नजिकिँदै जाँदा दाङको तुलसीपुर उपमहानगरपालिकाका थारू बस्तीहरूमा ढिक्री बनाउने चहलपहल बढेको छ । तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी यतिबेला ढिक्री बनाउन व्यस्त छिन् भने तुलसीपुर–१० बनकौकी विझौनी थारूलाई पनि ढिक्री बनाउन भ्याइनभ्याइ छ ।
उनीहरू मात्रै होइन, माघी नजिकिएसँगै थारू समुदायका अधिकांश घरधुरीमा ढिक्री बनाउने चटारो देखिन्छ । थारू समुदायमा ढिक्री हरेक चाडपर्वको मुख्य परिकारका रूपमा पकाउने चलन छ । विशेषगरी सुँगुरको मासु, माछा, घोँगीलगायतका परिकारसँग ढिक्री खाने परम्परा छ, जुन थारू समुदायका प्रख्यात परिकार मानिन्छन् ।
ढिक्री चामलको पिठोबाट बनाइन्छ । चामलको पिठो मुछेर त्यसलाई विभिन्न आकार दिइन्छ । माघीमा प्रायः लाम्चो आकारको ढिक्री बनाइने गरिन्छ भने दसैँमा गोलो र तिहारमा चेप्टो, दियो जस्तै आकारको ढिक्री बनाउने चलन छ । तयार पारिएको ढिक्रीलाई पानीको बाफमा करिब आधा घण्टासम्म उसिनेपछि खान योग्य बनाइन्छ ।
उसिनेर बनाइने भएकाले ढिक्री स्वास्थ्यका लागि लाभदायक मानिन्छ । यसमा न त चिल्लो पदार्थ प्रयोग हुन्छ, न त चिनी नै हालिन्छ । ढिक्रीको नियमित सेवनले आयु बढ्ने विश्वास थारू समुदायमा पौराणिक मान्यताका रूपमा रहँदै आएको छ ।
माघी पर्वलाई उल्लासपूर्वक मनाउन थारू समुदाय अहिले परम्परागत खानपान र सांस्कृतिक तयारीमा जुटिरहेको छ ।

