काठमाडौं — १४, माघ ।
स्पेनिस ला–लिगा फुटबल अन्तर्गत गएराति बार्सिलोना र रियाल मड्रिडले आ-आफ्नो खेलमा जित निकालेका छन् ।
तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले १० खेलाडीमा समेटिएको जिरोनामाथि २–० को सहज जित निकाल्यो । बार्साको जितमा लियोनल मेस्सी र नेल्सनले एक–एक गोल गरे ।
अर्को खेलमा रियाल मड्रिडले ईस्पानियोलमाथि ४–२ को रोमान्चक जित निकाल्यो ।
रियाल्को जितका लागि करिम बेन्जमाले दुई गोल गर्दा सर्जियो रामोस र ग्यारेथ बेलले थप एक–एक गोल गरे ।
खेलको अन्त्यमा राफेल भारानेले रेड कार्ड खाएपछि भने रियाल मड्रिड १० जना खेलाडिमा समेटिएको थियो ।
गएराती नै भएका ला लिगाको अन्य खेलहरुमा रियाल भालाडोलिडले सेल्टा भिगोलाई २–१ ले हराउँदा एथ्लेटिक बिल्बाओले रियाल बेटिसलाई १–० ले पराजित गर्यो ।
गएरातिका खेलको समाप्तिपछि ला लिगाको अंक तालिकामा २१ खेलबाट ४९ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा कयम छ ।
समान खेलबाट ४४ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ भने तेस्रो स्थानको रियाल मड्रिडको ३९ अंक रहेको छ ।

