
काठमाडौं— १७, माघ ।
अबको दुई वर्षभित्र क्रिकेट समर्थकले अन्तर्राष्ट्रियस्तरको रंगशालामा क्रिकेटको आनन्द उठाउन सक्नेछन् । धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच बुधबार सम्झौता भएपछि दुई वर्षभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्न लागेको हो । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
शान्तिचोकमा बन्ने
त्रिभुवन विश्वविद्यालय कृषि तथा वन विज्ञानको संकायको भरतपुर महानगरपालिकाअन्तर्गत शान्तिचोकमा रहेको २० बिघा ६ कठ्ठा जमिनमा फाउन्डेसनले रंगशाला बनाउने भएको हो । त्यहाँ नेपाली संस्कृति झल्किने २५ हजार क्षमताको रंगशाला बन्नेछ । फाउन्डेसनका अध्यक्ष कट्टेलले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको मान्यताअनुरूप नै रंगशाला निर्माण हुने जानकारी दिए ।
समर्थकहरू रंगशालाभित्र प्रवेश गरेदेखि प्याराफिटमा बस्दासम्म नेपाली मौलिकताले भरिएका दृश्य देख्न पाउने कट्टेलले बताए । रंगशाला प्रवेश गर्ने मुख्य ढोका कलात्मक हुनेछ । यसैगरी, रंगालाको मुख्य बाहिर खण्ड लगभग पेगोडा शैलीको हुनेछ । यसबाहेक रंगशाला किनारै बग्ने नारायणी नदीले दर्शकलाई अति नै लोभ्याउने उनको दाबी छ ।
रंगशाला कमलको फूल आकारमा
फ्लोड लाइटसहितको सुविधायुक्त रंगशालाको आकार कमल फूलको जस्तो छ । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा देखाइएको थ्रिडी भिडियोअनुसार रंगशालाको बाहिर खण्डलाई निकै आकर्षक बनाइएको छ । बाहिर क्षेत्रमा नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएका सम्पदाहरू समावेश गरिएको छ । मुख्य भवनको छतमा तीनवटा गजुर रहनेछन् । मुख्य प्रवेशद्वारदेखि रंगशाला प्रवेश गर्ने भवनको बीचमा गौतम बुद्धको मूर्ति राखिनेछ । यसैगरी, मिडिया सेन्टरदेखि खेलाडीहरूको जिमखानासम्म रंगशालाभित्रै रहनेछन् । रंगशाला क्षेत्रलाई हरियाली बनाउने किसिमको संरचना निर्माण हुनेछ । खेलाडीहरूले अभ्यासका लागि दुई फरक मैदान प्रयोग गर्न सक्नेछन् ।
बहुउद्देश्यीय परिसर
रंगशाला परिसर बहुउद्देश्यीय प्रयोजनको हुने फाउन्डेसनका अध्यक्ष कट्टेलले बताए । उनका अनुसार परिसरभित्र फुटबलदेखि टेनिस कोर्टसम्म व्यवस्था हुनेछ । रंगशालानजिकै फुटबल मैदान हुनेछ । यसैगरी, रंगशालाको छाना छोपिने किसिमको हुनेछ । परिसरभित्रै आधुनिक स्विमिङ हुनेछ । यसैगरी टेनिस कोर्ट, बास्केटबल र मार्सल आर्टस् खेल कभर्ड हल बन्नेछन् । यसैगरी भलिबल, ब्याडमिन्टन, डन्डिबियोलगायत अन्य धेरै खेल खेल्ने किसिमको बहुउद्देश्यीय अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने उद्देश्य राखेको उनले बताए ।
तीन अर्ब लगानी
बहुउद्देश्यीय रंंगशाला निर्माणका लागि ३ अर्ब लाग्ने फाउन्डेसनका अध्यक्ष कट्टेलले बताए । उनका अनुसार ६ महिनाभित्र सबै डिपिआर हुनेछ । यो दुई वर्षभित्र रंगशालाको काम पूरा गरी फाउन्डेसनले भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने योजना रहेको उनले बताए । ‘समृद्धि सम्भव छ, हाम्रै पाला बनाऊ मिली गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला’ भन्ने मूल नाराका साथ फाउन्डेसन अगाडि बढ्ने उनले बताए । नेपालले गत चैतमा एकदिवसीय मान्यता पाएपछि धुर्मुस–सुन्तली फाउन्डेसनले सामाजिक सञ्जालबाटै आफूहरू अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन इच्छुक रहेको जनाएको थियो । त्यसपछि फाउन्डेसन रंगशाला निर्माण गर्न उपयुक्त स्थलको निरीक्षण गरेको कट्टेलले बताए । भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराएपछि फाउन्डेसन रंगशाला बनाउन अग्रसर भएको हो ।
(नयाँ पत्रिका)
