Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित

पश्चिमी वायुले देशका अधिकांश भेगमा बदली तथा वर्षा र हिमपात हुने

admin

पश्चिमी वायु पुनः सक्रिय

काठमाडौं— १७, माघ ।

पश्चिमी वायु पुनः सक्रिय भएका कारण बिहीबार देशका अधिकांश भेगमा बदली तथा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

गत शुक्रबार देशको पश्चिमी भेगबाट प्रवेश गरेको उक्त मौसमी प्रणाली केही कमजोर भएपछि मंगलबारदेखि क्रमिक सुधार आएको थियो ।

बुधबार घाम लागेपनि अपराह्नपछि मौसम बद्लियो ।

बुधबार रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले अहिले काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा बदली छ । अपराह्नपछि केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

पश्चिमी वायुको प्रभाव बिहीबार रातिसम्म रहने र शुक्रबारदेखि मौसममा क्रमिक सुधार आउने महाशाखाका मौसमविद मीनकुमार अर्यालले जानकारी दिए ।

‘गएरातिदेखि प्रवेश गरेको पश्चिमी वायु अहिले क्रमशः मध्य भेग हुँदै पूर्वतर्फ सर्दैछ । यसरी अघि बढ्दा यो प्रणाली कमजोर हुने भएकाले मौसममा सुधार आउँछ । आगामी शनिबारदेखि आंशिक बदली रहेपनि मौसममा राम्रै सुधार हुने देखिन्छ’–उनले भने ।

मौसमविद अर्यालकाअनुसार अहिले जे–जति मौसमी प्रणाली देखापर्छन्, ती पश्चिमबाटै हुन्छन् । विशेष अवस्थाबाहेक पश्चिमी वायुले नै हिउँदे वर्षा गराउँछ ।

जाडोयाम (विन्टर सिजन)को अन्तिम चरण रहेकाले पनि मौसमी गतिविधि हेरफेर भइरहन्छ । अझै एक महिना पश्चिमी वायुको गतिविधि देखापर्ने मौसमविदको भनाइ छ ।

‘डिसेम्बर, जनवरी र फेब्रुअरी’ विन्टर तथा ‘मार्च, अप्रिल र मे’लाई प्रि–मनसुन अवधि मानिन्छ ।

त्यसपछि वर्षायाम अर्थात् मनसुनी (दक्षिण पूर्वी हावाले गराउने) मौसमी प्रणाली अवधिमा अत्यधिक वर्षा हुन्छ ।

खासगरी प्रि–मनसुनका बेला अपराह्नपछि या साँझतिर मेघगर्जनसहित वर्षा हुने र हुरीबतास चल्ने गर्छ ।

यसैबीच, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले देशको पश्चिम र मध्य क्षेत्रमा सामान्य बदली भइ पश्चिमी भेगका थोरै स्थान र मध्य र पूर्वाका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै उच्च हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमखालको हिमपातको सम्भावना औंल्याएको छ ।

राति देशका पश्चिमी भेगका थोरै स्थान र मध्य तथा पूर्वका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने हिमाली भेगमा हिमपात हुनेछ ।

शुक्रबार देशको पूर्वी क्षेत्र तथा पहाडी भेगमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी भेगमा आंशिक बदली रहनेछ । पहाडी भेग र हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

रातमा पनि पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना छ ।

शनिबार देशका पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

काठमाडौं उपत्यकामा बिहीबार बिहानैदेखि बदली भएका कारण बढी चिसो महसुस गरिएको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार बिहीबार काठमाडौंको न्यूनतम् तापक्रम ३.२ र अधिकतम् तापक्रम १८.५ डिग्री सेल्सियस छ । बुधबार काठमाडौंको न्यूनतम् तापक्रम घटेर १ डिग्रीमा झरेको थियो ।

बिहीबार सबैभन्दा कम जुम्लाको न्यूनतम् तापक्रम १ र अधिकतम् तापक्रम ११ डिग्री सेल्सियस रहेको छ ।

सबैभन्दा बढी अधिकतम् तापक्रम विराटनगरको २५ तथा सिमरा र नेपालगन्जको समान २३ डिग्री सेल्सियस छ ।

(रासस)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको