Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

मलेसियाका नवनिर्वाचित राजाद्वारा भव्य समारोहविच राज्यारोहण

admin

king of malaysia

क्वालालम्पुर— १८, माघ ।

मलेसियाका नवनिर्वाचित राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले बिहीबार राज्यारोहण गरेका छन् । क्वालालम्पुरस्थित राष्ट्रिय दरबारमा सांस्कृतिक र परम्परागत रूपमा आयोजना गरिएको भव्य समारोहमा बिहीबार राजा अब्दुल्लाहले राज्यारोहण गरेका हुन् । समारोहमा उनले नीलो पानीरङको औपचारिक पोसाक लगाएका थिए ।

यसअघिका राजाले पाँचवर्षे कार्यकाल पूरा नहुँदै बीचमै राजीनामा दिएकाले निर्वाचनमार्फत् छनोट गरिएका नयाँ राजाले राज्यारोहण गरेका हुन् । राज्यरोहण समारोहमा प्रधानमन्त्री महाथिर मोहम्मद, मुस्लिम धर्मगुरुलगायतको उल्लेख्य सहभागिता थियो । राज्यारोहण समारोहको टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण गरिएको थियो ।

शपथग्रहण अगाडि नयाँ राजा अब्दुल्लाहलाई संसद्मा स्वागत गरिएको थियो । उनलाई मलेसियाको राजसभाले केही दिनअघि संवैधानिक राष्ट्रप्रमुखका रूपमा निर्वाचित गरेको थियो । उनी मलेसियाका १६औं राजा हुन् । यसअघिका राजा सुल्तान मोहम्मद पाँचौँले जनवरी ६ मा राजीनामा घोषणा गरेपछि अब्दुल्लाहलाई एक साताअघि नयाँ राजामा चयन गरिएको थियो ।

मुस्लिमबहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले तोकिएको समयावधि नसकिँदै राजीनामा दिने मोहम्मद पहिलो राजा थिए । मोहम्मदले राजीनामा दिनुको कारण खुलाइएको छैन । उनले रुसी पूर्वसुन्दरीसँग विवाह गरेकाले राजीनामा दिएको अनुमान गरिएको छ । राजीनामा घोषणा गर्नुअघि सुल्तानले केही सातादेखि बिदा लिएका थिए । राजा सुल्तानले सन् २०१६ डिसेम्बरमा राजगद्दी सम्हालेका थिए ।

मलेसियाका नौवटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने अनौठो प्रचलन छ । त्यही परम्पराअनुसार ५९ वर्षीय अब्दुल्लाह पहाङ राज्यबाट नयाँ राजा निर्वाचित भएका हुन् । नयाँ राजा अब्दुल्लाहका पिता सुल्तान अहमद शाहले ८८ वर्षको उमेरमा यही जनवरीमा पदत्याग गरेपछि अब्दुल्लाह त्यस राज्यको सुल्तान बनेका थिए । नयाँ राजा अब्दुल्लाहको खेलकुदमा सोख छ । उनी आसियन फुटबल महासंघ परिषद् र फिफा परिषद्को सदस्य भइसकेका छन् । उनले मलेसिया फुटबल संघको अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए ।

मलेसियामा राजा दैनिक प्रशासनिक काममा भने संलग्न हुँदैनन् । तर, प्रधानमन्त्रीलगायत महत्वपूर्ण पदमा हुने नियुक्ति भने राजाबाट हुन्छ । मलेसियाका राजा इस्लाम धर्मका प्रमुख र सशस्त्र सुरक्षा निकायका पदेन प्रमुख हुने व्यवस्था छ । बहुसंख्यक मुसलमान राजाले मलेसिया र इस्लाम धर्मको परम्परालाई एकताबद्ध राखेको विश्वास गर्छन् ।

अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिलाई क्षमादान गर्ने अधिकार पनि राजासँग छ । तर, राजाको मानहानी हुने गरी आलोचना गर्नेलाई भने जेल सजाय हुन सक्ने व्यवस्था छ ।

मलेसियाका १३ राज्यमध्ये नौ राज्यमा परम्परागत शासक अर्थात् सुल्तान छन् भने बाँकी चार राज्यमा गभर्नर छन् । ती नौ राज्यका सुल्तानमध्येबाट चक्रीय प्रणालीमार्फत पाँच–पाँच वर्षका लागि राजा छान्ने परम्परा छ । प्रायः पालो कुरेर बसेका सुल्तान पालैपालो राजा हुन्छन् । अहिले राजा हुने पालो पहाङ राज्यका सुल्तानको थियो ।

राजा छान्न सबै सुल्तानलाई राजा हुने पालो भएको राज्यका सुल्तानको नाम लेखिएको मतपत्र दिइन्छ । अनि उनीहरूले नै गोप्य मतदानबाट ती सुल्तान राजा हुन उपयुक्त छन् कि छैनन् भनेर निर्णय गर्छन् । राजा निर्वाचित हुन नौमध्ये कम्तीमा पाँच मत अर्थात् बहुमत पाउनुपर्छ ।

(नयाँ पत्रिका)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको