Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

काठमाडौंको सवारी जाम घटाउन पिक एन्ड ड्रप अभियान अन्तर्गत पूर्वबाट उपत्यका भित्रिने गाडी मनोहरामै रोक्ने तयारी

admin

yatayat at manohara

काठमाडौं— १८, माघ ।

काठमाडौंको सवारी जाम घटाउन भित्री ११ रुटमा पिक एन्ड ड्रप अभियान चलाएको ट्राफिक प्रहरीले चक्रपथबाहिर पनि विस्तार गर्ने तयारी गरेको छ । पूर्व र पश्चिमबाट गाडी भित्रिने मुख्य नाका कोटेश्वर र कलंकीमा यो नियम लागू गर्न लागेको हो ।

बिपी र अरनिको राजमार्गबाट भित्रिने पूर्वका गाडीलाई भक्तपुरको मनोहरामै रोक्ने प्रहरीको तयारी छ । ‘अहिले अरनिको राजमार्गमा चल्ने सवारी खुलामञ्चस्थित बसपार्कमा आउँछन् । यसले चक्रपथभित्र जाम बढेको छ । मनोहराकिनारमै रोक्ने व्यवस्था भयो भने कोटेश्वरको जाम घट्छ,’ साना–ठूला यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख वसन्त पन्थीले भने ।

उनी पिक एन्ड ड्रप लागू गर्न महानगरपालिका सहरी सुव्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरको नेतृत्वमा बनेको सिफारिस समितिका सदस्य पनि हुन् । पूर्वका गाडीलाई मनोहरामा रोक्न काठमाडौंका सिडिओसहितको टोलीले ठाउँ हेरिसकेर समितिले महानगरलाई सिफारिस गरेको छ ।

अरनिको राजमार्गले विशेषगरी भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापलाई जोड्छ । बिपी राजमार्गले सिन्धुलीदेखि पूर्वी नेपालका जिल्ला जोड्छ । ती जिल्लाबाट दैनिक भित्रिने चार–पाँच हजार गाडीको चापले कोटेश्वरमा अत्यधिक जाम पर्ने गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार पन्तले पूर्वका गाडी मनोहरामा रोकेपछि भक्तपुरबाट बल्खु जानेलाई करिडोरको प्रयोग गर्ने र पेप्सीकोलाबाट आउनेलाई जडीबुटी पुलमुनि सबवेबाट कोटेश्वर क्रस गराउँदा कोटेश्वरको जाम ३५ प्रतिशत कम हुने बताए ।

पश्चिमबाट आउने मालबाहक गाडी दिउँसो थानकोटमै रोकिने
पृथ्वी राजमार्ग हुँदै काठमाडौं भित्रिने मालबाहक सवारीसाधन पनि कलंकीबाहिरै रोक्ने योजना ट्राफिक प्रहरीले बनाएको छ । काठमाडौं प्रवेशको मुख्य नाका नै यही भएकाले यात्रु र मालबाहक सवारीको चापले कलंकी अस्तव्यस्त बन्ने गर्छ । मालबाहकलाई दिउँसोको समयमा थानकोटमै रोके जाम घट्ने प्रहरीको अपेक्षा छ । ती गाडीलाई राति ८ बजेपछि चक्रपथभित्र प्रवेश दिने र राति नै बाहिरिनुपर्ने व्यवस्था गर्न लागिएको साना–ठूला यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख वसन्त पन्थीले बताए ।

जनताले रुचाए अन्य ठाउँमा पनि लागू गर्छौँ : महानगर
१ पुसदेखि खासगरी टुँडिखेलआसपास लागू भएको पिक एन्ड ड्रप जनताले रुचाएको महानगरपालिकाको दाबी छ । प्रवक्ता ईश्वरमान डंगोलले अन्य ठाउँमा पनि यो व्यवस्था लागू गर्न जनस्तरबाटै माग भएको बताए । ‘जनस्तरबाट त्रिपुरेश्वर, माइतीघर, लाजिम्पाट, बानेश्वर, चाबहिललगायत ठाउँमा पिक एन्ड ड्रप व्यवस्था लागू गर्न माग भएको छ,’ डंगोलले भने, ‘समितिले अध्ययन गरिरहेको छ, चाँडै विस्तार गर्छौँ ।’

(नयाँ पत्रिका)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको