परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको एसईई परीक्षाको नतिजा हेर्दा अनिवार्य नेपाली विषयमा विद्यार्थीहरुको अवस्था निकै कन्त विजोग देखिएको छ । झन्डै साढे चार लाख विद्यार्थीले यसपालीको परीक्षा दिएका थिए । जसमध्ये १८१ जनाले नेपाली विषयमा ए प्लस ल्याए । त्यस्तै अंग्रेजी विषयमा भने नौ हजारभन्दा बढी विद्यार्थीले ए प्लस ल्याउन सफल भए ।
आजभोली अन्य विषयमा भन्दा नेपालीमा विद्यार्थीहरु निकै कमजोर अवस्थामा रहेको प्रष्टै छ । मेरी ६ वर्षकी छोरीको पनि हालत त्यहि छ । अंग्रेजी सरासर लेख्ने उनी नेपालीको होमवर्क गर्नुपर्यो भने पेट दुख्यो भन्न थाल्छिन् । यतिसम्म की लौन मलाई निन्दाले च्याप्यो भन्ने जस्ता अनेक बहाना गर्छिन् । आँखिर १ कक्षाकै बच्चाले यस्तो किन गर्छन् ? यो खोजको विषय हुनु जरुरी छ । यसमा अन्तराष्टिय भाषाको प्रभाव मुख्य कारक हुनसक्छ भने आजभोली विद्यालयमा नेपाली भाषालाई महत्व नदिएका कारण पनि बालबालिकाका कमजोर भएका हुन् ।
अंग्रेजी जान्नु राम्रो कुरो हो । तर यसो भन्दैमा आफ्नो मातृभाषालाई कमजोर बनाउँदै लानु पक्कै पनि राम्रो होईन । आजभोली अंग्रेजी भाषालाई प्रोत्साहन गर्ने भन्दै नेपाली भाषालाई कमजोर बनाउने गरिएको छ । आजकाल त विद्यालयमा नेपाली बोल्यो भने शिक्षकबाट विद्यार्थीले सजाय नै पाउने चलन छ रे । यस्तो भएपछि हाम्रा बालबालिकाको नेपाली कसरी राम्रो हुन्छ ?
नेपाली विषयप्रति अभिभावक सचेत तथा संवेदनशील बन्ने बेला आईसकेको छ । तर छोराछोरीले अंग्रेजी फररर बोलेको देख्दा औधी खुसी हुने हामी नै हौं । खुसी हुनु नराम्रो होईन तर छोराछोरी नेपालीमा कमजोर भए केहि छैन भन्ने अनि अंग्रेजी बोल्दा खुसी हुने हाम्रो सोचबाट बालबालिका पनि प्रभावित बन्दै गएका हुन् । अभिभावकहरूको पनि नेपाली त गरिहाल्छन् नि, अरु विषयमा केन्द्रित हुनुपर्छ भन्ने सोचाइ रहेको देखिन्छ । अब त यस्तो बेला आइसक्यो की नेपाली विषयको ट्युसन अनिवार्यरुपमा पढाउनैपर्ने नपढाए विद्यार्थी फेलै हुने । हामी हाम्रो भाषामा कमजोर हुनु भनेको परनिर्भर बन्नु हो । यसबाट हाम्रा भावी पीढिले हाम्रो भाषा विर्सनेछन् ।
विद्यालयले नेपाली विषय शिक्षकप्रति खासै राम्रो व्यवहार गर्ने गरेको पाईन्न । विषयगत दक्षता नभएकालाई नेपाली पढाउन दिइन्छ । नेपाली सजिलो विषय हो र यो सामान्य व्यक्तिले पनि पढाउन सक्छ भनेर जसलाई पनि पढाउन दिने चलनका कारण पनि विद्यार्थीको नेपाली कमजोर भएको हो । तर सानो कक्षाका विद्यार्थीलाई भाषामा जति पोख्त शिक्षकले पढाउँछन् त्यतिनै उनीहरु तगडा हुँदै जान्छन् । भाषा सिकाइका लागि विद्यार्थीमैत्री वातावरणको आवश्यकता हुन्छ । विद्यार्थीमा भाषिक सीप विकासको लागि स्वयं विद्यार्थीलाई नै बोल्न, पढ्न र लेख्न लगाउनुपर्ने हुन्छ । तर हामीकहाँ विद्यार्थीले नेपालीमा कुरा गर्नसमेत नपाउने अवस्था छ ।
नेपाली भाषा नेपालको राष्ट्रिय भाषा हो । यो सम्पर्क भाषा हो, साथै सूचना र सञ्चारको भाषा हो । यतिमात्रै होईन सरकारी कामकाजको भाषा पनि हो । भाषा खाली विद्यालयको कितावसँग मात्रै सम्बन्धित छैन । नेपालीहरूको धर्म, इतिहास, संस्कृति, सभ्यता र परम्पराहरुसँग समबन्धित छ । हाम्रो भाषा जोगाउनका लागि विद्यालय, अभिभावक लगायत सम्बन्धित पक्षको ध्यान पुग्नु आवश्यक छ ।
कल्पना शर्मा, सम्पादक, नवीन सन्देश