Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

सनातन संस्कृत शिक्षाको महत्व सधैं उच्च : राष्ट्रपति भण्डारी

admin

rastapati bhandari worshiping

काठमाडौं— २२, माघ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत शिक्षाको महत्त्व सधैँ उच्च भएकाले यसको संरक्षण जरुरी रहेको बताएकी छन् । देवघाटस्थित महेश सन्न्यास आश्रमको गुरुकुलको ३२ कोठे भवन र डेढ साता चल्ने महायज्ञ उद्घाटनपछि उनले यस्तो बताएकी हुन् ।

सनातन संस्कृतिमा आधारित शिक्षा पद्धतिलाई जगेर्ना गर्दै गुरुकुलहरू सबैका लागि सुलभ बनाउनुपर्ने धारणा उनले राखिन् । ‘संस्कृत शिक्षा आजका युवाका लागि जरुरी छ,’ उनले भनिन्, ‘शिक्षामा समयानुकूल सुधारसँगै संस्कार संस्कृति जोगाइराख्न संस्कृत शिक्षाले मद्दत गर्छ ।’

कार्यक्रममा आश्रमका प्रमुख रमणनन्द गिरिले धर्म अनुरागीको मद्दतले आश्रम र संस्कृत गुरुकुललाई देशकै नमुना शिक्षालय बनाउन सकेको बताए । चितवन, पूर्वी नवलपरासी र तनहुँ जिल्लामा पर्ने देवघाटको आश्रम क्षेत्र तनहुँको देवघाट गाउँपालिकामा पर्छ ।

गुरुकुलका प्राचार्य डा. गुरुप्रसाद सुवेदीले वर्षौँदेखि विभिन्न संकटका चरणबाट गुज्रिँदै पनि संस्कृत शिक्षाको महत्त्व कम नभएको बताएका छन् । ‘हामीले शब्दमा समावेशी नभनेपनि संस्कृत शिक्षा लिन चाहने विद्यार्थीको छनोट र पहुँच सहज पार्दै लगेका छौँ,’ उनले संवाददातासँग भने, ‘अहिले हामी प्राथमिक तहदेखि संस्कृतमा स्नातकोत्तर तहसम्म पढाउने संरचना बनाउन सफल भएका छौँ । यो हाम्रो एक्लो प्रयास होइन ।’

gurukul

धर्मसंस्कृतिसँग जोडिएकाले बाहुन क्षेत्रीले मात्रै लिने भनेर हेपिएको अवस्था अब नभएको उनले बताए । ‘अबका सबै गुरुकुलमा शिक्षासँगै धर्मसंस्कृति जान्न र जोगाउन रुचि भएकालाई पहुँच खुला हुँदै आएको छ,’ उनले भने, ‘संस्कृत शिक्षाको महत्त्व बल्ल देशले बुझ्न थालेकोले गुरुकुलहरू सञ्चालन गर्न चाहनेलाई सहज हुने अवस्था छ ।’

६५ रोपनी क्षेत्रफलमा रहेको आश्रममा मन्दिर, गुरुकुल लगायत २१ वटा विभिन्न संरचना छन् । आश्रम स्थापनाको २५ औँ वर्षको अवसर पारेर आयोजित महायज्ञ गुरुकुलको दिगो सञ्चालनका लागि अक्षय कोष खडा गर्न लक्षित रहेको डा. सुवेदीले बताए ।

गुरुकुलमा हाल २ सय ५० विद्यार्थी र २५ शिक्षक छन् । गुरुकुलका सबै कक्षा एउटै थलोबाट चलाउन निर्मित नयाँ भवन करिब ५ करोडको लागतमा तयार भएको हो । समारोहमा सहभागी सेनाको हेलिकप्टरमा देवघाट आएकी राष्ट्रपति भण्डारीले आश्रम परिसरको विद्येश्वर महादेवको मन्दिरमा पूजाअर्चना पनि गरेकी थिइन् ।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको