Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

भेनेजुएलाका राष्ट्रपति गुआइडोलाई ईयू राष्ट्रको समर्थन

admin

venejuela

ब्रसेल्स/काराकस — २२, माघ ।

बेलायत, फ्रान्स, जर्मनी र अन्य युरोपेली देशले भेनेजुएलाका विपक्षी दलका नेता खुवान गुआइडोलाई अन्तरिम राष्ट्रपति स्वीकार गरेका छन् ।

ईयू (युरोपेली संघ) ले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई निर्वाचनको मिति घोषणा गर्न एक साताको समय दिएका थिए । तर उक्त अवधिभित्र मडुरोले चुनाव घोषणा नगरेपछि ईयू राष्ट्रहरूले विपक्षी नेतालाई अन्तरिम राष्ट्रपतिमा स्वीकारगरेका हुन् ।
राष्ट्रपति मडुरोको पक्षमा उभिएको रुसले ‘युरोपेली देशले अनावश्यक हस्तक्षेप गरेको’ भन्दै समर्थनको विरोध जनाएको छ । उसले उक्त कदम ‘गैरकानुनी रूपमा सत्ता हत्याउने प्रयास’ भएको दाबी गरेको छ ।

विपक्षी नेता गुआइडोले गत जनवरी २३ मा एक बृहत् र्‍यालीबीच अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । त्यसलगत्तै अमेरिका, क्यानडा, अस्ट्ेरलिया र केही ल्याटिन अमेरिकी देशले गुआइडोलाई समर्थन जनाएका थिए । उनले राष्ट्रपति निकोलस मडुरोलाई सत्ताबाट हटाई आफ्नो नेतृत्वमा सरकार गठन गरी चुनाव गर्ने बताउँदै आएका छन् ।

स्पेनी सरकारको आधिकारिक समर्थन जनाउने क्रममा प्रधानमन्त्री पेद्रो सान्चेजले गुआइडोलाई यथाशक्य चाँडो निर्वाचन गर्न आग्रह गरे । उनले गुआइडोलाई भने, ‘जतिसक्दो चाँडो चुनाव घोषणा गर्नुस् । चुनाव स्वतन्त्र र लोकतान्त्रिक हुनुपर्छ ।’ सान्चेजले भेनेजुएलाका लागि ईयू र राष्ट्रसंघमार्फत मानवीय सहयोगका लागि पहल गर्ने समेत आश्वासन जनाए ।

बेलायती विदेशमन्त्री जेरेमी हन्टले टवीटरमार्फत ‘पछिल्लो कदमले भेनेजुएलामा मानवीय संकट अन्त्य हुने विश्वास’ व्यक्त गरेका छन् । त्यसैगरी, फ्रान्स, अस्ट्रिया, स्वीडेन र डेनमार्कले पनि गुआइडोलाई समर्थन जनाएका छन् ।

फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोंले ‘भेनेजुएली जनतालाई स्वतन्त्रतापूर्वक र लोकतान्त्रिक रूपमा आफ्नो विचार अभिव्यक्त गर्ने अधिकार भएको’ बताए ।

एक स्पेनी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति मडुरोले आफू कुनै पनि राष्ट्रको दबाबले नझुक्ने बताएका थिए । ‘युरोपेली सुंघले किन पहिले नै चुनाव भएको देशलाई पुन: गराउन भन्छ ? किनकि त्यहाँ आफ्नो समर्थक पराजित भएको छ,’ मडुरोले काराकसमा अन्तर्वार्ताका क्रममा भने ।

मडुरोले अमेरिका र उसका मित्रशक्तिका क्रियाकलापले देशमा गृहयुद्ध सुरु हुनसक्ने बताए । उनले आफ्नो देशमाथि अनावश्यक हस्तक्षेप गरिरहेको भन्दै अमेरिका र उसका मित्रशक्ति देशको कडा आलोचना गरे । ‘हामी आफ्नो देशमा बस्छौं र कसैले हस्तक्षेप नगरोस् भन्ने चाहन्छौं । तर हामी प्रतिरक्षा गर्न सक्षम र तयार छौं,’ मडुरोले भने । अन्तर्वार्ताका क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा हस्तक्षेप गरे उनले रक्ताम्य हात लिएर ह्वाइटहाउस छोड्नुपर्ने चेतावनी समेत दिए ।

सन् २०१३ यता सत्तामा रहेका मडुरोको शासनकालमा भेनेजुएलाले मुद्रास्फिति, खाद्यपदार्थ तथा औषधिको अभावका साथै गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ । राष्ट्रसंघका अनुसार विगत ३ वर्षमा करिब २३ लाख मानिसले भेनेजुएला छाडिसकेका छन् ।
यसैबीच, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले विपक्षी नेता गुआइडोको ‘साहस र नेतृत्वको’ प्रशंसा गरेका छन् ।

गुआइडोले एक अन्तर्राष्ट्रिय गठबन्धनमार्फत देशमा मानवीय सहायता भित्र्याउने बताएका छन् । उनले मडुरोलाई सत्ता छोड्न दबाब जारी राख्ने बताएका छन् । गुआइडोले अमेरिकाबाट मानवीय सहयोग प्राप्त हुने मिति घोषणा गर्ने अपेक्षागरिएको छ ।

गुआइडोले कम्तीमा ३ लाख मानिसहरू ‘मुत्युको मुखमा रहेको’ दाबी गर्दै मानवीय सहयोगको याचना गरेका हुन् । उनले मडुरोको विपक्षमा आगामी मंगलबार हुने बृहत् प्रदर्शनमा सहभागी हुन समर्थकलाई आहवान गरेका छन् ।

गतवर्ष भएको विवादास्पद चुनावमार्फत राष्ट्रपतिमा निर्वाचित मडुरोले गत जनवरी १० मा दोस्रो कार्यकालका लागि शपथ लिएपछि भेनेजुएलामा विरोध प्रदर्शन जारी छन् । मडुरोमाथि गत वर्ष भएको राष्ट्रपतीय चुनावमा धाँधली गरेर जितेको आरोप छ ।

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङटनमा बोल्दै ‘भेनेजुएलाको संकट अन्त्य गर्न सैनिक हस्तक्षेपको विकल्प खुला रहेको’ प्रतिक्रिया दिएका छन् । यद्यपि, गुआइडोलाई अन्तरिम राष्ट्रपतिमा समर्थन जनाउने सबैजसो देशको आँखा भेनेजुएलाको सेनातर्फ सोझिएका छन् ।

राष्ट्रपति मडुरोलाई सेनाको समर्थन रहेको छ । गत बुधबार भेनेजुएलाको सर्वोच्च अदालतले विपक्षी नेता गुआइडोलाई देश छाड्न र आफ्नो बैंक खाता सञ्चालन गर्न प्रतिबन्ध लगाएपछि अमेरिकाले उनको बचाउ गर्दै मडुरोलाई चेतावनी दिएको थियो । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले गुआइडोमाथि कुनै पनि हानि गरे अमेरिका चुप नलाग्ने बताएका थिए ।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको