
काठमाडौं— २३, माघ ।
भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लुका संक्रमण बढ्दै गएको छ जसका कारण यस बर्षको शुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्यांकमा उल्लेख गरिएको छ ।
राज्य सरकारको तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लु प्रभावित एक हजार ११ विरामी भेटिएकामध्य ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । रोगको प्रकृतिका कारण स्वाइन फ्लु नै भनेर सार्वजनिक रूपमा प्रचारवाजी नगरिकन निदानको प्रयास भइरहेको एक सरकारी अस्पतालका चिकित्सकले बताएका छन् ।
दिल्लीमा गत बर्षमात्र स्वाइन फ्लुका विरामीको सङ्ख्या २०५ रहेको र दुई जनाको मृत्यु भएको थियो । यस बर्ष भने उक्त सङ्ख्या निकै धेरै देखिएको जनाइएको छ ।
स्वाइन फ्लुका विरामीको सङ्ख्या जनवरी २९ सम्म ५१२ रहेकोमा करिब एक हप्ताको समयमा बिरामीको सङ्ख्यामा दोब्वर देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
दिल्ली सरकारले आफ्ना सबै अस्पतालमा चाहिने औषधि, खोप, तथा अन्य उपचारका सामग्रीहरु समयमै स्थानीय तहमा खरिद गरी विरामीलाई स्वास्थ्य सेवाको कमी हुन नदिन सावधानी अपनाएको बताएको छ ।