Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

पश्चिम सेतीमा लगानी गर्न कतारको एक ऊर्जा कम्पनीको चासो

admin

west seti

काठमाडौं— २३, माघ ।

कतार सरकारको लगानी रहेको एक ऊर्जा कम्पनीले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा चासो देखाएको छ । कम्पनीसँग वार्ताका लागि लगानी बोर्डको एक टोली कतार गएको थियो ।

कतारमा भएको वार्ताको क्रममा कम्पनीले नेपालमा विद्युत् आयोजना निर्माणका लागि चासो देखाएको लगानी बोर्डका प्रवक्ता एवं टोलीनेता उत्तमभक्त वाग्लेले जानकारी दिए ।

‘आइतबार कतारको नेब्रास पावर नामक कम्पनीका प्रतिनिधिसँग वार्ता भयो । हामीले पश्चिम सेतीसहित प्रोजेक्ट बैंकमा भएका आयोजनाबारे जानकारी दियौं,’ उनले भने, ‘कतारी कम्पनीका प्रतिनिधिले आयोजनाबारे चासो दिएका छन् । चाँडै नै कम्पनीको प्राविधिक टोली नेपाल आउँदै छ ।’ नेब्रासका प्रतिनिधिसँग पश्चिम सेती विस्तृत परियोजना अध्ययन सकिएका आयोजना भएकाले तत्काल निर्माणमा जान सकिने विषयमा छलफल गरेको उनले जानकारी दिए ।

‘एकै पटकको वार्ताबाट लगानी आउने भन्ने होइन । उनीहरूको प्राविधिक टोली आयोजनाबारे थप बुझ्न आउँदै छ । त्यसपछि काठमाडौंमा हुने लगानी सम्मेलनमा पनि कम्पनीको टोली सहभागी हुने तय भएको छ,’ वाग्लेले भने, ‘नेपालमा विद्युत् आयोजना निर्माणका लागि उनीहरूको चासो देखाएका छन् ।’ नेब्राससँग वार्ताका लागि लगानी बोर्डका वाग्लेसहित ऊर्जा मन्त्रालयका सीडीई, कानुन मन्त्रालयका उपसचिवसहित पाँच जनाको टोली कतार गएको थियो । कतारस्थित नेपाली राजदूतावासले वार्ताको चाँजो मिलाएको वाग्लेले जानकारी दिए ।

पश्चिम सेती निर्माणको लागि चिनियाँ कम्पनी थ्री गर्जेजसँग समझदारी भए पनि कम्पनीले विभिन्न सर्त राख्दै आयोजना निर्माण गर्न नसकिने बताएको छ । लगानी बोर्ड र चीनको थ्री गर्जेज इन्टरनेसनल (सीटीजीआई) बीच २०६८ मा आयोजना निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

भदौमा बोर्ड र चिनियाँ कम्पनीका प्रतिनिधिका बीच काठमाडौंमा भएको दुईदिने वार्तामा निर्माणको विषयमा सहमति नजुटेपछि बोर्डले असोज १ गते आयोजना निर्माणका लागि नयाँ मोडल खोजी गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, अर्थमन्त्री युवराज खतिवडा र ऊर्जामन्त्री वर्षमान पुन सम्मिलित तीन सदस्यीय समिति गठन गरेको छ ।

काठमाडौंमा भएको छलफलका क्रममा चिनियाँ कम्पनीले आयोजना ७ सय ५० मेगावाट जडित क्षमतामा निर्माण गर्न नसकिने, डलरमा विद्युत् खरिद सम्झौता हुनुपर्ने, विद्युत् खरिद मूल्य बढाउनुपर्नेजस्ता माग राखेको थियो ।

जलाशययुक्त आयोजनाबाट प्राधिकरणले वर्षामा ७ रुपैयाँ ४० पैसा र सुक्खायाममा १२ रुपैयाँ ४० पैसामा विद्युत् खरिद गर्दै आएको छ । विद्युत् खरिदको वर्तमान निर्देशिकाअनुसार विद्युत् आयोजनाले विदेशी लगानी नतिरुन्जेल वा १० वर्षसम्म जुन चाँडै हुन्छ त्यही बेलासम्म मात्रै डलरको भाउमा विद्युत् खरिद गर्न मिल्ने व्यवस्था छ । वार्ताका क्रममा १२ वर्षसम्म डलरमा पीपीए गर्ने व्यवस्था मिलाउन बोर्डसहित नेपाली वार्ता टोली सकारात्मक देखिएको थियो । चिनियाँ कम्पनीले आयोजनामा १७ प्रतिशत नाफा दर निश्चित गर्नुपर्ने अडान राखेको थियो ।

चिनियाँ कम्पनीकै मागअनुसार बोर्डले आयोजनाको जडित क्षमता छ सय मेगावाटमा झार्न लचकता देखाएको थियो । आयोजनाको जडित क्षमता घटाउँदा पनि नाफा नहुने चिनियाँ कम्पनीको अडानपछि पश्चिम सेती निर्माणको विषयमा कुनै निष्कर्ष निस्किएको छैन ।
बैतडी, बझाङ, डडेल्धुरा र डोटी जिल्ला छुने आयोजनाले वार्षिक २ अर्ब ८० करोड युनिट विद्युत् उत्पादन गर्ने अनुमान छ । आयोजनाका लागि १ खर्ब ८० अर्ब लाग्ने अनुमान छ ।

थ्री गर्जेजसँग निर्माण समझदारी भएर सात वर्ष रोकिएको आयोजना त्यसअघि अस्ट्रेलियन कम्पनी स्मेकले पनि डेढ दशक ओगटेको थियो । सरकारले आयोजना निर्माणका लागि २०५४ मा स्मेकलाई दिएको हो । अस्ट्रेलियन कम्पनीले पटकपटक म्याद थप्दा पनि आयोजनाका लागि लगानी जुटाउन नसकेपछि सम्झौता खारेज गर्दै सरकारले थ्री गर्जेजसँग समझदारी गरेको हो ।

थ्री गर्जेजसँगको समझदारीमा आयोजना सन् २०१४ देखि आयोजना निर्माण सुरु गरी २०१९ डिसेम्बरमा सकाउने उल्लेख गरिएको छ । समझदारीमा थ्री गर्जेजले नेपाल विद्युत् प्राधिकरणसँग संयुक्त लगानीमा आयोजना निर्माण गर्ने प्रावधान छ ।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको