Logo
22 May 2025    ९ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक भियतनाममा हुने

admin

PM Donald Trump

काठमाडौं— २३, माघ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–अनसँग फेब्रुअरी २७–२८ तारिखमा भियतनाममा भेट्ने घोषणा गरेका छन् । दुबै नेताबीच गत वर्ष जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो ।

भियतनाम बैठकमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम त्याग्नका लागि उत्तर कोरियाली नेतालाई सहमत गराउन विशेष पहल गर्नेछन् ।

अमेरिकी संयुक्त सदनलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले गत वर्ष सिंगापुरमा भएको पहिलो वार्ताले शान्तिका लागि बाटो खोलेको बताए । तर आणविक निःशस्त्रीकरण कसरी सम्पन्न हुन्छ भन्नेमा अझैसम्म ठोस कार्यक्रम र रुपरेखा तय भइसकेको छैन ।

राष्ट्रपति ट्रम्पले भने, ‘कोरियाली प्रायःद्वीपमा दिगो शान्ति स्थापना गर्न संयुक्तराज्य अमेरिकाले ऐतिहासिक र साहसिक कदम चाल्नु आवश्यक थियो ।’

राष्ट्रिय गुप्तचर निकायका निर्देशक ड्यान कोट्सले गत साता कङ्ग्रेसको एक समितिमा अमेरिकी गुप्तचर अधिकारीहरुले अझै पनि किमले आणविक कार्यक्रम त्याग्नेमा विश्वास नगरेको बताएका थिए । उनले आणविक अस्त्र नै उत्तर कोरियाको मुख्य बाँच्ने आधार रहेको बताएका छन् ।

गत वर्ष जुनमा भएको पहिलो शिखर बैठकपछि लिइएका भूउपग्रहीय तस्वीरमा उत्तर कोरियाले आणविक सामग्रीहरुको उत्पादनलाई नरोकेको सङ्केत गरेका छन् ।

गत वर्ष, उत्तर कोरियाले थुनामा रहेका केही अमेरिकीलाई छाडेको थियो भने आणविक तथा लामो दूरीका क्षेप्यास्त्रको परीक्षण स्थगित गरेको थियो । एउटा आणविक परीक्षण केन्द्र ध्वस्त बनाउनुका साथै एउटा रकेट प्रक्षेपण स्थल नष्ट गरेको थियो । तर यी सबै कार्यहरु कुनै पनि अन्तर्राष्ट्रिय विज्ञ वा मुलुकको रोहबरमा गरिएका थिएनन् ।

यद्यपी राष्ट्रपति ट्रम्पले हालसम्म भएका प्रगतिको विवरण सुनाउँदै भने, ‘उत्तर कोरियामा कब्जामा रहेका अमेरिकीहरु घर फर्किएका छन्, आणविक परीक्षण रोकिएको छ, र १५ महिनाभन्दा बढी समयदेखि कुनै पनि किसिमको क्षेप्यास्त्र प्रहारका घटना भएका छैनन् । यदि म अमेरिकाको राष्ट्रपतिमा निर्वाचित नभएको भए मेरो विचारमा उत्तर कोरियासँग ठूलो युद्ध शुरु भइसकेको हुन्थ्यो ।’

‘धेरै काम गर्न अझै बाँकी नै छ, तर किम जोङ अनसँग मेरो सम्बन्ध निकै राम्रो छ,’ उनले भने ।

दुई नेताबीच भियतनाममा हुने शिखर बैठकको तयारीका निम्ति उत्तर कोरियाका लागि अमेरिकी विशेषदूत स्टेफन बाइगन उत्तर कोरिया प्रस्थान गरेका छन् ।

भियतनाममा हुने दुई दिने शिखर बैठकको स्थान भने घोषणा गरिएको छैन । भियतनाममा कम्युनिष्ट शासन रहे पनि आर्थिक उदारवाद र स्वतन्त्र व्यापार नीतिका कारण भियतनामले पछिल्लो केहीवर्षदेखि उच्च दरको आर्थिक विकास गरिरहेको छ ।

(रासस/एपी)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको