
सल्यान— २३, माघ ।
झन्डै एक महिनाअघि विष सेवन गरी आत्महत्या गरेका भनिने छत्रेस्वरी गाउँपालिका ४ सुंगुरखोरका चार वर्षीय बालक समिर खत्रीलाई आमा यमुना केसी भन्ने एलिसा खत्रीले विष सेवन गराई हत्या गरेको प्रहरीले जनाएको छ ।
एक महिनादेखिको अनुसन्धानबाट हत्याको रहस्य खुलेको हो । आफ्नै कोठामा सल्फास नामक विषादी खुवाएपछि बालकले बान्ता गर्न थालेको र पेट दुख्न थालेपछि श्रीनगर बजारमा रहेको अस्पतालमा उपचार गर्न ल्याउँदा गत पुस २८ गते मृत्यु भएको थियो । बालकको जिल्ला अस्पतालमा पोस्टमार्टम गर्नुपर्ने भए पनि सीधैं घर फर्काएर गाउँ नजिकैको गाडेपछि शंका लागेकै कारण जिल्ला प्रहरी कार्यालयको टोलीले पुस २९ गते उत्खनन गरी पोस्टमार्टम गराएको थियो । त्यसपछि आमा एलिसालाई नियन्त्रणमा लिइएको थियो । आरोपीले छोराको हत्या गरेको स्वीकारेको प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।
एलिसाले एक अपरिचित ब्यक्तिसँग आफू अविवाहित हुँ भन्दै फोनमार्फत प्रेम सम्बन्ध राख्नुका साथै श्रीमान् लिलाधर खत्रीसँग राम्रो सम्बन्ध नभएकोले छोरालाई मारेको बयानमा उल्लेख गरेका प्रहरी नायव उपरीक्षक शाहीले जानकारी गराए । उनलाई अहिले अदालतमा बुझाइएको छ ।
(कान्तिपुर दैनिक)