Logo
19 May 2025    ६ जेष्ठ २०८२, सोमबार

ताजा खबर

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन कान्स फिल्म फेस्टिभल : रेड कार्पेटमा देखिए प्रदीप खड्का इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

भेनेजुएलाबारे सरकारसँग स्पष्ट जानकारी दिन माग

admin

काठमाडौं— २३, माघ ।

दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिकालगायत देशले अनावश्यक चासो राखेको भन्दै सांसद प्रेम सुवालले नेपाल सरकारको तर्फबाट स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसद सुवालले सार्वभौम मुलुकमाथि कुनै पनि देशले अनावश्यक चासो दिने, हस्तक्षेप गर्न नपाइने अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई सम्मान गर्नुपर्नेमा त्यस्तो नभएकाले नेपालजस्ता मुलुकले स्पष्ट अडान सार्वजनिक गर्नुपर्ने बताए । उनले भेनेजुयलाका विषयमा सङ्घीय संसद्‌मा समेत छलफल गर्न माग गरे ।

सांसदहरुले चितवन र नवलपुर जिल्लामा तत्काल हुलाकी सडक निर्माणमा सरकारले प्राथमिकता नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । चितवन र नवलपुरमा हुलाकी सडक निर्माणको काम सुरु हुन नसक्दा ती जिल्लाका हजारौं नागरिक समस्यामा परेको भन्दै सांसद तिलबहादुर महत क्षेत्रीले तत्काल सो राजमार्ग निर्माणमा ध्यान दिन आग्रह गरे । उनले गण्डकी प्रदेशको प्रमुख नाकासमेत रहेको कालीगण्डकी करिडोर नवलपुर जिल्लामा जोडिने भएकाले ती दुई महत्वपूर्ण आयोजना अगाडि बढाउन सकिए आर्थिक गतिविधि र विकास निर्माणको प्रक्रियाले गति लिने उनको भनाइ थियो ।

पूर्व–पश्चिम राजमार्गभन्दा दक्षिणतिर रहेको बस्तीमा सडक निर्माण हुन नसक्दा स्थानीय जनताले कष्टकर जीवनयापन गर्नुपरेको भन्दै सडक निर्माणको काम अगाडि बढ्न नसकेकामा गुनासो गरे । उनले विकास निर्माणको काममा भइरहेको ढिलाइका कारण समस्या बढेको भन्दै तत्काल समस्या समाधान गर्न आग्रह गरे ।

पूँजीगत खर्च नबढेकामा चिन्ता

यस्तै शून्य समयमा सांसद डिला सङ्ग्रौलाले पूँजीगत खर्च बढ्न नसकेकामा गुनासो गरिन् । वर्तमान सरकारले आर्थिक समृद्धिको लक्ष्य राखेको भए पनि मुलुकको आर्थिक सूचकाङ्क सकारात्मक नभएको, शोधान्तर खाता बढेको तथा उपभोग्य र निर्माण सामग्रीको मूल्य बढेकामा चिन्ता व्यक्त गरिन् ।

त्यस्तै सांसद तेजुलाल चौधरीले नेपाल वायु सेवा निगमले खरीद गरेको दुई वटा वाइडबडीमा भएको भनिएको अनियमितताको सम्बन्धमा गरिएको छानबिन प्रतिवेदनले दोषी देखाइएकालाई कारवाही गर्ने प्रक्रिया कहाँ पुग्यो भन्दै प्रश्न गरेका थिए । स्थानीय तहमा विगतदेखि सुरु भएका साना आयोजनामा सरकारले ध्यान नदिएका कारण करोडौँको लगानी खेर भएको भन्दै सांसद दीलेन्द्रप्रसाद बडूले त्यस्ता आयोजना केन्द्र, प्रदेश र स्थानीय सरकार कसले हेर्ने हो यथाशीघ्र जानकारी गराउन आग्रह गरे ।

सांसद पुष्पा भुसालले देशव्यापीरुपमा महिला हिंसाको घटना बढेको र सरकारी निकायले दोषीलाई कारवाही गर्न नसकेको, निर्मला पन्तको बलात्कारपछिको हत्याका सम्बन्धमा हालसम्म कुनै पनि प्रगति हुन नसक्नु दुःखद् रहेको बताइन् ।

सांसद प्रभु साहले सार्वजनिक सवारी साधनमा महिला, ज्येष्ठ नागरिकलाई छुट्याइएको सिटमा आरक्षण नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद बालकृष्ण खाँणले आफ्नो पार्टी निकटका नेपाल विद्यार्थी सङ्घका अध्यक्षलगायत कार्यकर्तालाई दुःख दिइएको भन्दै गुनासो गरे । उनले झुटो मुद्दा लगाइएका विद्यार्थी नेताको मुद्दा तत्काल फिर्ता लिनसमेत आग्रह गरे ।

शून्य समयमा सांसदहरु देवप्रसाद गुरुङ, देवेन्द्रराज कँडेल, अम्बिका चौधरी, पार्वती डिसी चौधरी, धर्मशीला चापागार्इंले स्थानीय तथा राष्ट्रिय समस्याका बारेमा सरकार र सदनको ध्यानाकर्षण गराएका थिए ।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको