
धादिङ— २७, माघ ।
आइतबार बिहान लागुऔषध नियन्त्रण ब्युरोको सहयोगमा गजुरी प्रहरीले ठुलो परिणाममा लागु औषध चरेश बरामद गरेको छ । काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै वीरगंजतर्फ जानलागेको भारतीय कन्टेनरमा लुकाई छिपाई भारततर्फ लैजाँदै गरेको तीन सय ६० किलो चरेशसहित ३ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
प्रहरी टोलीले एसआर ५५ एम ९४८४ नम्बरको भारतीय नम्बरको कन्टेनर आइतबार बिहान गजुरी बजारमा रोकेर चेक गर्दा चरेश फेला परेको हो । बरामद गरिएको चरेश सँगै भारत उत्तर प्रदेशका ओमप्रकाश, मोतिहारी जिल्लाका गुलाफ खानलाई पनि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । एकजनाको भने परिचय खुल्न सकेको छैन ।
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय गजुरीले अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार आइतबार बिहानपक्राउ परेको लागुऔषध चरेस यो वर्षको अहिले सम्मकै सबैभन्दा ठुलो परिमाणको हो ।
(कान्तिपुर दैनिक)
