रौतहट— ,फागुन १२।
रौतहट कटहरिया नगरपालिका–१ मा गत फागुन ६ गते प्रहरी चेकजाँचका क्रममा फेनारगन, डाइजोल्याब, नोर्फिन इन्जेक्सन, नाइट्रोभेट ट्याब्लेटलगायतका प्रतिबन्धित औषधिसहित दुई व्यक्ति पक्राउ परे । उनीहरू बिआर ०६ ए ६५८० नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल छिरेका थिए । दुवै भारतीय नागरिक हुन् ।
पछिल्लो समय पर्सा, सप्तरी, सर्लाही, सिरहालगायत प्रदेश २ का धेरै जिल्लामा सीमा क्षेत्र हुँदै प्रतिबन्धित औषधि भित्रने गरेका छन् । प्रदेश २ प्रहरी कार्यालयको तथ्यांकअनुसार प्रदेशका आठै जिल्लामा लागुऔषध कारोबार र सेवन गर्नेको संख्या बढ्दो छ । प्रदेश २ को प्रहरीका अनुसार आर्थिक वर्ष ०७४/७५ मा लागुऔषधसम्बन्धी ४८७ मुद्दा दर्ता भए । जसमा १३ वर्षमुनिका १३ जना, १६ देखि २५ वर्षका ३६७ जना, २६ देखि ३५ वर्षका १९७ गरी जम्मा ७१४ जना पक्राउ परेका थिए । जसमा २० महिलासमेत थिए । चालू आर्थिक वर्षको पुस मसान्तसम्म नै ३३४ वटा मुद्दा दर्ता भइसकेका छन् । जसमा १३ वर्षमुनिका १२ जना, १६ देखि २५ वर्षका २५१ जना, २६ देखि ३५ वर्षका १५७ गरी ५०६ पक्राउ परेका छन् ।
गिरोह नै सक्रिय
लागुऔषधका लागि नेपालबाट ठूलो रकम बाहिरिने गरेको लागुऔषधविरुद्धका अभियन्ता दीपेन्द्र यादव बताउँछन् । ‘युवा दुव्र्यसनको शिकार बन्दै गएका छन्, अर्कोतिर ठूलो रकम बाहिरिने गर्छ,’ उनले भने । प्रदेश २ मा लागुऔषध कारोबारका लागि संगठित गिरोह नै सक्रिय रहेको प्रहरीको आशंका छ । गिरोहको जालो भत्काउनुपर्ने आवश्यकता रहेको अभियन्ता दीपेन्द्र यादवले बताए ।
भारतीय बजारहरूमा सहजै लागुऔषध उपलब्ध हुने भएकाले सेवनकर्ता र कारोबारी यहाँ केन्द्रित भएका हुन् । सीमावर्ती विभिन्न नाका हुँदै पहाडी जिल्लाका युवासमेत लागुऔषधको खोजीमा भारतीय बजारसम्म पुग्ने गरेका छन् । प्रहरीका अनुसार सेवनकर्ताले भारतीय बजारमै आवश्यक ‘डोज’ लिएपछि थप ओसारपसार गर्छन् । कारोबारीहरूले पनि प्रहरी छल्न विभिन्न रुट समातेर ठूलो परिमाणमा लागुऔषध नेपाल ल्याउने गरेको विभिन्न घटनाहरूले पुष्टि गरेको छ ।
प्रदेश २ का प्रहरी प्रवक्ता दानबहादुर थापाले नेपाल प्रहरीको ध्यान लागुऔषध नियन्त्रणमा केन्द्रित भएको बताए । प्रवक्ता थापाका अनुसार लागुऔषध नियन्त्रण, अवैध हातहतियार, महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा प्रहरीले विशेष चासो दिइरहेको छ । प्रहरीबाट मात्रै लागुऔषध प्रयोग नियन्त्रणमा आउने सम्भावना नभएकाले स्थानीय पनि सजग हुन आवश्यक रहेको उनले बताए ।
यो वर्ष सिरहामा ८० मुद्दा
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक उमाप्रसाद यादवका अनुसार चालू आर्थिक वर्षको साउनदेखि माघ महिनासम्म लागुऔषधका ८० मुद्दा दर्ता भएका छन् । त्यसमा ११७ जना पक्राउ परेका छन् भने ६ जना फरार छन् । जबकि, गत आर्थिक वर्षमा ६७ मुद्दा दर्ता भएका थिए र १ सय २ करोबारी पक्राउ परेका थिए ।
(नयाँ पत्रिका)