Logo
21 May 2025    ८ जेष्ठ २०८२, बुधबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

भेनेजुएलामा नाका बन्द गरिएपछि सहायता सामग्री सीमामै थन्किए

admin

venejuila

काठमाडौं— ,फागुन १२।

भेनेजुएलामा पठाइएका मानवीय सहायता सामग्री छिमेकी मुलुक कोलम्बियासँगको सीमामा थन्किएका छन् । सरकारले कोलम्बियासँगको सीमा बन्द गरेपछि भेनेजुएलाको सीमामा सयौँ हजार टन मानवीय सहायताका सामग्री थन्किएका हुन् । विपक्षी नेताको आह्वानमा पश्चिमा मुलुकहरूले भेनेजुएलामा मानवीय सहयोगका सामग्री पठाउन थालेपछि सरकारले सीमा बन्दको घोषणा गरेको हो । खाद्यान्न र औषधिसहितका सहायता सामग्रीलाई राष्ट्रपति मदुरोले अस्वीकार गरेका छन् । दैनिक अत्यावश्यकीय सेवा अभाव भएपछि विपक्षी नेताको आह्वानमा अमेरिकालगायत पश्चिमा मुलुकहरूले केही दिनअघि भेनेजुएलाका लागि सहायता सामग्री पठाएका थिए ।

यात्रा प्रतिबन्धको अवज्ञापछि सीमा बन्द
सीमा बन्द गर्नुअघि सरकारले विपक्षी नेता हुवा गुएइदोलाई विदेश भ्रमणमा प्रतिबन्ध लगाएको थियो । यात्रा प्रतिबन्धको अवज्ञा गर्दै विपक्षी नेता गुएइदो भेनेजुएलासँगको सीमावर्ती सहर कुकुता पुगेको केही घन्टापछि सरकारले कोलम्बियासँगको सीमा बन्द गरेको थियो । गुएइदोलाई कुकुतामा कोलम्बिया, चिली र पाराग्वेका राष्ट्रपतिहरूले स्वागत गरेका थिए । यी तिनै राष्ट्रले ३५ वर्षीय गुएइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन् । भेनेजुएलाको सशस्त्र सेनाको सहयोगमै आफू सीमामा पुगेको उनले दाबी गरेका छन् । सेनाको समर्थन मदुरोलाई नै रहेको बताइँदै आएका वेला विपक्षी नेताको दाबीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।बिहीबार मात्र सरकारले ब्राजिलसँगको सीमा बन्द गरेको थियो । विपक्षी नेता गुएइदोको आह्वानमा ब्राजिलमा पनि भेनेजुएलाका लागि सहायता सामग्री संकलन भइरहेको छ ।

जारी छ हिंसा
सहायता सामग्री वितरणबारे मदुरो पक्ष र गुएइदो पक्षबीच विवाद हुँदा ठाउँ–ठाउँमा सुरक्षाफौजसँग झडप भएका छन् । शनिबार ब्राजिलसँगको सीमामा सुरक्षाफौजको गोली लागेर दुईजनाको मृत्यु भएको छ । भेनेजुएलामा जारी पछिल्लो हिंसाको अमेरिकाले निन्दा गरेको छ । ‘मानवीय सहायता सामग्रीलाई शान्तिपूर्वक भेनेजुएला प्रवेश गर्न सेनाले अनुमति दिनुपर्छ । यसबारे विश्व समुदायले ध्यानपूर्वक अवलोकन गरिरहेको छ,’ अमेरिकी सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, दक्षिणी भेनेजुएलाको कुमारकापेमा सरकारी सेना र त्यहाँको जनजाति समुदायका सदस्यहरूबीच ताजा हिंसा भएको छ । आफ्नो क्षेत्रतर्फ गुडेका सेनाका गाडीलाई सडकमा अवरोध गरेपछि सेनाले सर्वसाधारणमाथि अन्धाधुन्द फायरिङ गरेको थियो । फायरिङमा केही व्यक्ति घाइते भएका छन् । पछिल्ला दिनमा कुमारकापेमा सेनाले सुरक्षा व्यवस्था कडा पारेको छ ।

‘शान्तिका लागि सीमानाका बन्द’
भेनेजुएलाको राष्ट्रिय निर्वाचक सभाका अध्यक्ष डिओस्डाडो काबेल्लोले देशमा शान्ति कायम गर्न छिमेकी मुलुक कोलम्बियासँगको सीमा बन्द गरिएको बताएका छन् । सुरक्षाका कारण देशको ताचिरा राज्यमा पर्ने सीमानाका बन्द गरिएको उनले बताए । ‘भेनेजुएलामा पूर्ण शान्ति स्थापनाका लागि सीमा बन्द गरिएको हो,’ काबेल्लोले सीमा क्षेत्रमा आयोजित एक कार्यक्रममा भने । सरकारी उच्च अधिकारीहरूसँग आफूले देशका धेरै ठाउँ भ्रमण गरेको बताउँदै उनले भने, ‘ती ठाउँमा शान्ति छ । हाम्रो चासो शान्ति र स्वतन्त्र राज्यको सम्मान हो ।’

यस्तै, उपराष्ट्रपति डेल्सी रोड्रिगुएजले देशको सार्वभौमसत्ता र सुरक्षामाथि गम्भीर खतरा भएकाले आंशिक रूपमा सीमा बन्द गरिएको बताए । भेनेजुएलामा विपक्षी नेता गुएइदोले २३ जनवरीमा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि राजनीतिक संघर्ष चर्किएको छ ।

(नयाँ पत्रिका)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको