काठमाडौं— फागुन १२।
आइसीसी महिला टी–२० विश्वकप क्रिकेटको छनोट खेलमा नेपालले अहिले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ ।
थाइल्याल्यान्डको बैंककमा जारी प्रतिस्पर्धामा जितको निम्ति नेपालले ६३ रनको चुनौती पाएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको हङकङले निर्धारित् २० ओभरमा ८ विकेट गुमाएर ६२ रन बटुल्यो ।
उसका लागि मेरिना लम्पोलले सर्वाधिक १९ रन जोडिन् ।
बलिङतर्फ नेपालकी नेरी थापा एक्लैले ६ विकेट लिइन् । नेरीले ४ ओभरमा ८ रनमात्रै खर्चिएर ६ विकेट झारेकी हुन् ।
६३ रनको सामान्य लक्ष्य पाएको नेपालले आफ्नो ब्याटिङ सुरु गरेको छ ।
एसियाली समूहको छनोटमा नेपालको यो चौथो खेल हो भने प्रतियोगिताका सुरुआती तीनमध्ये दुई खेलमा जित निकालेको नेपाल आयोजक थाइल्यान्डसित पराजित भएको थियो ।
एसियाली क्षेत्रीय छनोट प्रतियोगिताबाट ग्लोबल छनोटमा पुग्न नेपालले यो प्रतियोगिता जित्नुपर्ने बाध्यता हुन्छ ।
हालसम्म तीन खेलबाट ४ अंक जोडेको नेपाल प्रतियोगिताको चौथो स्थानमा रहेको छ ।
शीर्ष स्थानमा रहेको थाइल्यान्डले ४ खेलबाट ८ अंक जोडेको छ भने ५ खेलबाट ८ अंक जोडेको युएई दोस्रो स्थानमा रहेको छ ।
