
काठमाडौं—फागुन २१।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आसन्न लोकसभा निर्वाचनमा पाकिस्तानसँगको द्वन्द्वलाई प्रमुख मुद्दा बनाउने तयारीमा जुटेका छन् ।
उनले आतंकवादविरुद्धको कारवाहीका नाममा पाकिस्तान अधिनस्थ कश्मीरको बालाकोटमा गरेको कथित हवाइ हमलालाई पछिल्लो समय चुनावी अस्त्रका रुपमा विकसित गर्ने रणनीति बनाइरहेका छन् । विपक्षी दलहरु एकजुट हुँदै गएको र सहयोगी घटकहरुसमेत असन्तुष्ट बन्दै गएको अवस्थामा मोदीका लागि चुनावी मुद्दा खोज्न निकै कठिन मानिएको थियो ।
भारत प्रशासित कश्मीरको पुलवामामा भएको आतंकवादी हमलामा ठूलो संख्यामा सैनिक मारिएपछि मोदीले सोही हमलाको प्रतिक्रियास्वरुप बालाकोटमा गरिएको हवाइ हमलालाई चुनाव प्रचारको प्रमुख मुद्दाका रुपमा अघि सारे ।
लगत्तै पाकिस्तानी वायुसेनाले भारतीय वायुसेनाको विमान खसालिदिएपछि भने मोदीको लोकप्रियतामा धक्का लागेको थियो । सुरुमा भारत सरकार र भारतीय सेनाले पाकिस्तानी हमलालाई अस्वीकार गर्दै आफ्नो विमान दुर्घटनामा खसेको बताएका थिए । तर पाकिस्तानी सेनाले भारतीय वायुसेनाका क्याप्टेन अभिनन्दनलाई नियन्त्रणमा लिएको भिडियो नै सार्वजनिक गरेपछि भने भारतीय दावी झुठो रहेको उजागर भयो ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानको निर्देशनमा भारतीय क्याप्टेन अभिनन्दन रिहा गरिए । अहिले मोदी नेतृत्वको सरकार अभिनन्दनलाई सकुशल फिर्ता ल्याउनदेखि लिएर आतंकवादमा संलग्नमाथि ‘उसकै घरमा प्रवेश गरेर सफाया गर्ने’ काममा सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै चुनाव प्रचारका लागि ‘राष्ट्रवाद’लाई नयाँ ढंगले उठाइरहेको छ ।
भारतीय टेलिभिजन च्यानल ‘आजतक’का अनुसार सत्तारुढ भारतीय जनता पार्टीले यसै सन्दर्भमा एउटा गीतसमेत तयार पार्दैछ । चुनाव प्रचारमा सहयोगी हुने विश्वासका साथ तयार पारिने उक्त गीत प्रसून जोशीले लेख्ने जनाइएको छ ।
विपक्षी दलहरुले भने पाकिस्तानी भूमिमा गरिएको कथित कारवाहीबारे नै आशंका प्रकट गर्दै सरकारसँग प्रमाण माग गर्दै आएका छन् । सैन्य कारवाहीलाई भारत सरकारले निकै प्रचार गर्नुका साथै कतिपय शंका उब्जिएको समयमा विपक्षीहरुले पनि ‘सैन्य कारवाही देशका लागि कि भारतीय जनता पार्टीका लागि ?’ भन्ने प्रश्न उठाएका छन् ।
मोदी सरकारले भारतीय वायुसेनाको कारवाहीमा पाकिस्तानी विमान खसालेको दावी गर्दै आएको छ । विपक्षीहरुले सरकारको यस्तो दावीमा पनि आशंका गरेका छन् । पाकिस्तानले पनि भारतको दावीको खण्डन गर्दै आएको छ ।
सैन्य कारवाहीको प्रमाण माग्नेहरुलाई मोदी नेतृत्वको सरकार र सत्तारुढ भारतीय जनता पार्टीका नेता–कार्यकर्ताले ‘सेनाको मनोबल गिराउने प्रयास गरेको’ भन्दै उल्टै निशाना बनाउन थालेका छन् । भारतमा एउटा तप्काले पाकिस्तानसँगको सम्बन्धलाई सुधार गर्ने, पाकिस्तानको तुलनामा कमजोर हुने कुनै पनि गतिविधि र प्रतिक्रियालाई अपाच्य मान्ने गरेको छ । यहाँसम्म कि, क्रिकेट खेलमा समेत पाकिस्तानसँग भारत पराजित हुँदा आफ्ना खेलाडीहरुको पुत्ला जलाउनेदेखि लिएर आफैंले हेरिरहेको टेलिभिजन सेट फुटाउनेसम्मका घटना हुने गरेका छन् ।
भारतीय जनतामा रहेको त्यही ‘राष्ट्रवाद’लाई मोदीले चुनाव प्रचारको प्रमुख अस्त्र बनाउन थालेका हुन् । अघिल्लो चुनावमा गरेका कतिपय बाचा पुरा गर्न नसकेको अवस्थामा मोदीलाई हिन्दुवादी संगठनले अयोध्यामा राम मन्दिर बनाउन उदासिन रहेको भन्दै आलोचना गर्न थालेका छन् । महाराष्ट्रमा सहयोगी घटकका रुपमा रहेको शिवसेनाले पनि पछिल्लो समय मोदीको आलोचना गर्दै आएको छ । यस्तो अवस्थामा पाकिस्तानसँगको द्वन्द्वलाई भजाएर मोदीले दोस्रो कार्यकालका लागि जनादेश हासिल गर्न सक्लान् त ? जवाफ भविष्यकै गर्भमा छ ।
(ईमेज खबर/एजेन्सी)
