
काठमाडौं—फागुन २१।
काठमाडौंको मैतीदेवीस्थित डान्स फिवर (रिदम अफ सोल) ले १५ औं बार्षिकोत्सवका अवसरमा हिउँदे कला शिविर आयोजना गर्ने भएको छ । बिद्यालयहरुमा शैक्षिक सत्रको अन्तिम परीक्षा सकेर छुट्टीमा बसेका बालबालिकाहरुको अन्तरनिहित क्षमता पहिचान गर्ने उद्देश्यले शिविर आयोजना गर्न लागिएको नायक गजित विष्टले जानकारी दिए । शिविर आउँदो चैत्र २२ गतेदेखि बैशाख ७ गतेसम्म १५ दिने चल्नेछ ।
नायक बिष्ट शिविर आयोजनाका बिषयमा भन्छन् — अभिभावकहरु आफ्ना नानीहरुले स्कूलमा गएर राम्रो पढोस् । धेरै अंक ल्याओस् भन्ने चाहना राख्छन् । बालबालिकाको पूर्ण बिकासका लागि यो मात्र पर्याप्त छैन । उनीहरुभित्र कलात्मक जीवन जिउने कला लुकेको हुन्छ । त्यो चिनेर प्रस्तुत गर्ने अवसर बालबालिकालाई दिनुपर्छ । यही बिशिष्ट उद्देश्य राखेर शिविर चलाउने जमर्को गरेका हौं ।
३ बर्षदेखि १४ बर्ष उमेर समूहका बालबालिकाको सर्वाङ्गीण र चौतर्फी बिकासका लागि बालबालिकाको रुची र बहुआयामिक व्यक्तित्व बिकास गर्नु पर्ने समयको माग शिविर सम्बोधन गर्ने अपेक्षा गरिएको छ । यस अनुरुप शिविरका कक्षा र पाठ्यबस्तु निर्धारण गरिएका छन् । औपचारिक शिक्षामा पनि खेल्दै सिक्ने बिधि स्वीकार गरिएको छ । यस सन्दर्भमा कलामार्फत बालबालिकालाई नैतिकवान् एवं गुणवान् बनाउन सकिन्छ भन्नै पर्दैन । कलामार्फत बालबालिकाको गुण र उनीहरुको रुची चिन्न नृत्य, गायन, बक्तृत्व, भाषण तथा उद्घोषण कला, जादु, चित्रकला, आत्मरक्षा कला जस्ता कक्षाबाट बालबालिकामा — म केही गर्न सक्छु । मभित्र पनि क्षमता छ भन्ने आत्मबिश्वाश बढाउने तथा नेतृत्व बिकासका जोड दिइनेछ । यो लक्ष्य पूरा गराउन कला र सञ्चार क्षेत्रका ख्याती प्राप्त प्रशिक्षक तथा पाहुना प्रशिक्षकले कक्षा सञ्चालन गर्नुहुनेछ ।
डान्स फिवरका अनुसार — अभिनय बिधामा नायक गजित विष्ट, नायिका अशिश्मा नकर्मी चलचित्र निर्माता, निर्देशक तथा अभिनेता निर्मल शर्मा गैंडाले कक्षा लिनुहुनेछ भने गायनमा डेनी निरौला, उद्घोषण÷बक्तृत्व तथा भाषण कलामा सञ्चारकर्मी चन्द्रमणि भट्टराईले कक्षा लिनुहुनेछ, जिम्नास्टिक र पार्करका लागि (गिनिज वल्र्ड रेकर्डमा २ पटक नाम दर्ता गराई सकेका) दिनेश सुनवार, कलाकार तथा जादुगर महादेव त्रिपाठी ।
शिविरमा आउने बालबालिकालाई कला क्षेत्रमा बिशिष्ट उचाइ प्राप्त गरेका सेलिव्रेटी कलाकारसँग परिचित गराउन दीपाश्री निरौला, दिनेश डि.सि., पल शाह, आंचल शर्मा, गम्भीर बिष्ट, सौगात बिष्ट (गिनिज वल्र्ड रेकर्डमा कान्छा चलचित्र निर्देशकका रुपमा नाम दर्ता भएका निर्देशक) सागर लम्साल (बले — भद्रगोल) लाई पाहुना प्रशिक्षकका रुपमा निम्त्याउने योजना छ ।
यसरी औपचारिक शिक्षा हासील गर्ने समयबाट बचेको समयमा प्रदान गरिने सीपले औपचारिक शैक्षिक प्रमाण पत्र सरह योगदान दिन सक्ने भएकोले बालबालिकाभित्रको सृजनशीलता बढाउन पनि नानीहरुलाई कक्षामा पठाउन डान्स फिभरले अभिभावकसँग अनुरोध गरेको छ ।
