काठमाडौं—फागुन २१।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारका लागि योग्य नभएको बताएका छन् । जनताको चाहनाअनुसार कश्मीर समस्या समाधान गर्नेलाई व्यक्ति पुरस्कारका लागि योग्य हुने उनको भनाइ छ ।
सामाजिक सञ्जालमा इमरानले लेखेका छन्, ‘म नोबेल शान्ति पुरस्कार पाउन योग्य छैन । त्यसका लागि योग्य त्यो हुनेछ, जसले कश्मीरी जनताको इच्छाअनुसार कश्मीर विवाद अन्त्य गराउनेछ ।’
भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका भारतीय विमान चालक अभिनन्दन वर्थमानलाई रिहा गरिदिएपछि इमरानलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्न माग गर्दै अभियान पाकिस्तानमा चलाइएको छ । इमरानलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने माग गर्दै करिब ३ लाख मानिसले हस्ताक्षर संकलन गरिसकेका छन् ।
द्वन्द्व थप बढेर हिंसा फैलिने अवस्था सृजना हुन नदिन इमरानले अनपेक्षित र प्रशंसनीय भूमिका खेलेको भन्दै आफ्नै देशका जनताले उनलाई पुरस्कार दिनुपर्ने भन्दै अभियान चलाएका हुन् । हस्ताक्षर अभियान र दबाबपछि पाकिस्तानका सूचना मन्त्री फावाद चौधरीले इमरानलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्न संसद्मा प्रस्ताव पेस गरिसकेका छन् ।
(कान्तिपुर दैनिक)