धनगढी—फागुन ३०।
बन्दको समयमा बस चलाएको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाका कार्यकर्ताले कैलालीको गौरीगंगा नगरपालिका बडैपुरमा जन्ती पुर्याएर फर्किएको बसमा आगजनी गरेको छ ।
भजनीमा जन्ती पुर्याएर फर्कने बेलामा राति १ बजे बसमा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले जानकारी दिए ।
विवाहमा गएका ब्याण्डबाजा टोलीका १० जना र चालक, सहचालक गरी १२ जनालाई ओरालेर म १ ख ४४१ नम्बरको बसमा ८–१० जनाको समूहले डिजल छर्केर आगजनी गरेको प्रहरीले जनाएको छ ।
बन्दले यहाँको जनजीवन निकै प्रभावित भएको छ । प्रदेश राजधानी धनगढी, अत्तरियालगायतका बजारहरु पूर्ण रुपमा बन्द छन् । धनगढीमा मोटरसाइकल र विद्युतीय रिक्सामात्र सञ्चालनमा आएको छ ।
बिप्लवका तीन जना कार्यकर्ता पक्राउ
नेत्रविक्रम चन्द बिप्लव नेतृत्व नेकपाका तीन जना कार्यकर्तालाई कैलालीमा प्रहरीले पक्राउ गरेको छ । यातायात सञ्चालन नगर्न आह्वान गरिरहेको अवस्थामा गोदावरी नगरपालिकाको गोदावरीबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले जानकारी दिए ।
पक्राउ पर्नेमा कञ्चनपुर दैजीका कोषराज भट्ट, कञ्चनपुरको भीमदत्त नगरपालिकाका सुशील चन्द र डोटीको बिपीनगरका धनबहादुर बम रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहाडबाट तराइ आइपुगेका गाडी जलाइदिन्छौं भनेर गाडी रोकिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक तिम्सिनाले बताए ।
तीन ठाउँमा शंकास्पद बस्तु फेला
जिल्लाको विभिन्न तीन ठाउँमा शंंकास्पद वस्तु फेला परेको छ । जोशीपुर गाउँपालिका–५ को वडा कार्यालय अगाडि, पूर्व–पश्चिम राजमार्गको सुखड तथा साढेपानीमा राजमार्ग नजिक बमजस्तो देखिने शंकास्पद बस्नु फेला परेको प्रहरीले जनाएको छ ।
शंकास्पद बस्तु भेटिएको ठाउँमा नेपाली सेनाको टोलीलाई बोलाइएको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए । यात्रुवाहक सवारी साधनलाई प्रहरीले स्कर्टिङ्ग गरिरहेको उनले बताए ।
(नयाँ पत्रिका)