
काठमाडौं– १९ दिनदेखि अनशनरत डा. गोविन्द केसीको माग सम्बोधनका लागि दबाव दिँदै डाक्टरहरु प्रधानमन्त्री निवास बालुवाटार घेर्न गएका छन्।
डा. केसीको अनशन स्थल त्रिवि शिक्षण अस्पतालबाट नाराबाजी गर्दै चिकित्सकहरु बालुवाटार घेराउ गर्न निस्केका हुन् । जुलुसमा करिब एक हजार जना डाक्टर, विद्यार्थी तथा सर्वसाधारण सहभागी छन् । उपत्यकामा रहेका विभिन्न मेडिकल कलेजका डाक्टर र विद्यार्थी पनि जुलुसमा सरिक छन्।
प्रधानमन्त्रीले चिकित्सा शिक्षा विधेयकमा छलफल गर्न बालुवाटारमा ११ बजे सरोकारकारवालाहरुको बैठक बोलाएका छन् । ‘डा. केसीको मागमा सरकार संवेदनहीन देखिएको छ’, जुलुसमा सहभागी एमबिबिएस अध्ययनरत विशद दाहालले भने, ‘सरकारलाई दबाब दिन बालुवाटार घेराउ गर्न बाध्य भयौं।’
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको विधेयक तयार पार्न बनेको कार्यदलले डा. केसीको माग विपरीत विधेयक तयार पारी समितिलाई बुझाएपछि चिकित्सकहरु चिढिएका छन्।
सरकारी चिकित्सक संघले शुक्रबारबाट देशभरका सरकारी अस्पतालमा ओपिडी सेवा बहिस्कार गर्ने निर्णय गरेको छ।
