काठमाडौँ —चैत ११ ।
नेपाली राष्ट्रिय फुटबल टोलीले सोमबार कुवेतविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । पहिलो खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा पनि घरेलु टोलीलाई बराबरीमा रोक्ने लक्ष्य राखेको छ । कुवेतविरुद्धको गोल खडेरी आजको खेलमा तोडिने विश्वास लिएको छ । ‘हामी आजको प्रतिस्पर्धामा बराबरीका लागि नै प्रयास गछौँ,’ नेपाली टोलीका प्रमुख प्रशिक्षक योहान कोलिनले नयाँ पत्रिकासँग भने ।
रोक्नु मुख्य चुनौती
पहिलो खेलमा सनसनीपूर्ण बराबरी गरेपछि उत्साही बनेको नेपाल दोस्रो खेलमा आत्मविश्वासी प्रदर्शनका लागि मैदान उत्रने प्रशिक्षक कालिनले जानकारी दिए । पहिलो खेलकै स्पिड दोस्रो खेलमा पनि जारी राख्ने गरी तयारी गरेको उनले बताए । कोलिनले भने, ‘पहिलो खेलपछि दोस्रो खेलमा उनीहरू केही आक्रामक हुनेछन् । हामी उनीहरूको चुनौतीलाई रोक्नका लागि मैदानमा उत्रन्छौँ ।’ कोलिनले नेपाली खेलाडी घरेलु टोलीविरुद्ध त्यहीस्तरमै प्रतिस्पर्धा गर्न सक्ने दाबी गरेका छन् । ‘हामी विपक्षीको स्तरअनुरूप नै प्रतिस्पर्धा गर्न सक्छौँ,’ उनले भने, ‘घरेलु टोलीलाई सक्दो कडा चुनौती दिन्छौँ ।’
अझ राम्रो प्रदर्शन
नेपालका कप्तान विराज महर्जनले कुवेत थप शक्तिशाली भएर मैदानमा आउने बताए । ‘हामी पनि उनीहरूलाई सोहीअनुसारको जवाफ दिनका लागि मैदानमा उत्रन्छौँ,’ कप्तान महर्जन भन्छन् , ‘पहिलो खेलको प्रदर्शनपछि कुवेतले दबाब महसुस गरेको छ । त्यसैले उसले जतिसक्दो बलियो टिम फर्मेसन गर्नेछ ।’ महर्जनले अघिल्लो खेलमा देखाएको आत्मविश्वास टिमले दोस्रो खेलमा पनि जारी राख्ने बताए । विराजले भने, ‘हाम्रा लागि कुवेतविरुद्धको दोस्रो खेल पनि उत्तिकै महत्वपूर्ण छ, त्यसैले हामी शतप्रतिशत मिहिनेत गर्नेछौँ ।’
दूतावासको शुभकामना
नेपाली टोलीलाई कुवेतस्थित नेपाली राजदूतावासले शुभकामना दिएको छ । आइतबार एक कार्यक्रममा खेलाडीलाई दिवाभोजसहित दूतावासले दोस्रो खेलका लागि शुभकामना दिएको हो । कार्यबाहक राजदूत प्रकाश पौडेलले खेलाडीलाई सोमबार पनि अघिल्लो खेलको जस्तै नतिजा निकाल्नका लागि हौसला प्रदानका लागि कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए । उनले भने, ‘राजदूतावासले खेलाडीलाई मोटिभेसन गर्नका लागि भेटघाट कार्यक्रम राखेको हो । मलाई विश्वास छ, हाम्रा खेलाडीले आफ्नो पुरानो लयलाई कायम राख्नेछन् ।’
(नयाँ पत्रिका)