काठमाडौँ — चैत्र २५ ।
नेपाली कांग्रेसभित्रको कलह एकपछि अर्को गर्दै झागिँदै गएको छ ।
महाधिवेशन भएको वर्षौसम्म पनि बनाउन नसकिएको केन्द्रीय कार्यसम्पादन समिति गठनबारे फेरि अर्को रडाको देखिएको छ ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच ६०/४० प्रतिशतका आधारमा समिति बनाउन खोजेपछि अर्का नेता कृष्ण सिटौला विरोध जनाएका छन् । नेताहरुबीच कुरा नमिलेकै कारण सभापतिले बोलाएको केन्द्रीय समितिको बैठकसम्म बस्न सकेको छैन ।
केन्द्रीय समितिको बैठकमा नाम प्रस्ताव गर्नु पूर्व सहमति खोज्न भन्दै सभापति देउवाले आज बोलाएको नेताहरुको बैठक पूर्व महामन्त्री सिटौलाले भने बहिष्कार गरेका छन् ।
सभापति देउवाले आफ्नै निवासमा पार्टी पादाधिकारी र पूर्व पदाधिकारीहरुको वैठक बोलाएपनि सिटौला जान नमानेका हुन् ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनको विषयमा छलफल हुने बताइएको छ ।
केन्द्रीय समिति पछिको शक्तिशाली निकाय कार्यसम्पादन समिति गठनमा आफ्ना मानिसहरु राख्न कांग्रेसमा नेताहरुबीच गूटैपिच्छेको स्वार्थ देखिन्छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले कार्यसम्पादन समितिसँगै गठन हुन बाँकी रहेका विभागका विषयमा पनि छलफल हुने जानकारी दिएका छन् ।
कार्यसम्पादन समिति बनाउन सभापति देउवा र नेता पौडेलबीच भागबण्डा मिले पनि सिटौला भने आफूलाई बेवास्ता गरिएको भन्दै असन्तुष्ट देखिएका हुन् ।
नेताहरु कुरा नमिलेकै कारण शनिबार बोलाइएको केन्द्रीय समिति बैठक नै हुन सकेको थिएन ।
सिटौलाले २९ सदस्यीय कार्यसम्पादन समितिमा आफूले दुई सदस्य पाउनुपर्ने अडान राखेका छन् भने देउवा र पौडेल सिटौलालाई मात्रै राख्न सहमत भएका छन् ।
(ईमेज खवर)