Logo
11 Oct 2024    २५ आश्विन २०८१, शुक्रबार

ताजा खबर

आजदेखि वीपी राजमार्ग सञ्चालनमा दशैं बिदामा पनि प्रेस काउन्सिलले नियमनलाई निरन्तरता दिने बाढी-पहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति भारतका उद्योगपति रतन टाटाको निधन आज फूलपाती, देवीको मन्दिर तथा दशैं घरहरुमा फुलपाती भित्र्याइँदै आज एक लाख यात्रुले छाडे उपत्यका

‘मुद्दा मिलाउन’ सप्तरीका तत्कालीन न्यायाधीशलाई ५ लाख

admin

राजविराज — चैत्र २७ ।

फलफूल व्यापारीले जिल्ला अदालत सप्तरीका तत्कालीन न्यायाधीश श्यामसुन्दर अधिकारीको बैंक खातामा ५ लाख जम्मा गरेको भौचरसहित न्यायपरिषद्मा उजुरी, बहुविवाहमा सफाइको आदेश दिलाउन लेनदेन भएको आरोप ।

मुद्दा प्रभावित पार्न एक जना जिल्ला न्यायाधीश र फलफूल व्यापारीबीच रकम लेनदेन भएको खुलेको छ । राजविराजका व्यापारी सागरकुमार साहले जिल्ला अदालत सप्तरीका तत्कालीन न्यायाधीश श्यामसुन्दर अधिकारीको बैंक खातामै ५ लाख रुपैयाँ जम्मा गरेको भन्दै न्यायपरिषदमा उजुरी परेको छ । न्यायाधीश अधिकारी जिल्ला अदालत कालिकोटमा छन् ।

राजविराजका फलफूल व्यापारी सागरकुमार साहले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीको खातामा विभिन्न मितिमा हालेको रकमको भौचर ।

सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरका मनोजकुमार साहले न्यायाधीश अधिकारीले सागरकुमार साहमार्फत आफ्नो मुद्दा प्रभावित गर्न लिएको भन्दै हुलाकमार्फत शुक्रबार न्यायपरिषदमा उजुरी दिएका हुन् । उजुरीपत्रमा उल्लेख भएअनुसार मनोजकुमारले पत्नी सुनीताकुमारी साहलाई सप्तकोसी नगरपालिका २ बस्ने मो अली हुसेनले भगाई विवाह गरेपछि बहुविवाहको मुद्दा चलाएका थिए ।

त्यसपछि अली हुसेन पक्राउ भई सप्तरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान भए र सुनीताकुमारी साह भने १८ हजार धरौटी बुझाई तारेखमा रिहा भइन् । उक्त मुद्दामा साक्षी बकपत्रसमेत भई ०७४ सालमा सुनीताले पति मनोजविरुद्ध हालेको मानाचामल मुद्दामा बहुविवाहको मिसिलसमेत सामेल गरी नियमानुसार पेस गर्नु भनी सप्तरी जिल्ला अदालतबाट आदेश भएको थियो ।

दुवै मुद्दाको एकसाथ ०७५ असार २५ गते पेसी तोकिएकामा सुनीता, उनका भाइ विजयकुमार साह, अली हुसेनका छोरा र सुनीतासमेत मिली सागरकुमार साहमार्फत न्यायाधीश अधिकारीलाई पैसा दिएर बहुविवाह मुद्दामा सफाइ पाउने गरी फैसला गरेको आरोप मनोजकुमारको उजुरीमा उल्लेख छ ।

उक्त मुद्दा अहिले उच्च अदालत जनकपुरको राजविराज इजलासमा विचाराधीन छ ।फलफूल व्यापारी सागरकुमारले जिल्ला न्यायाधीश अधिकारीको माछापुच्छ्रे बैकमा रहेको खाता नम्बर ६१३६५२४५२०१४८०१७ मा विभिन्न मितिमा पाँच लाख रुपैयाँ पठाएको भौचर कान्तिपुरलाई प्राप्त भएको छ । सागरकुमारले अधिकारीको खातामा ०७५ असार १५ गते एक लाख, असार ३२ गते दुई लाख र साउन २ गते दुई लाख गरी पाँच लाख रुपैयाँ जम्मा गरिदिएको भौचर कान्तिपुरलाई प्राप्त भएको छ । भौचरमा उद्देश्य ‘व्यापार’ लेखिएको छ ।

व्यापारी सागरकुमार अहिले इलाका प्रहरी कार्यालय लहान सिरहामा बैकिङ कसुरको आरोपमा हिरासतमा छन् । उनीमाथि सप्तरी जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दासमेत छ ।

२०७४ असोज ३० गते मनाङ जिल्ला अदालतबाट सरुवा भएर सप्तरी जिल्ला अदालत आएका न्यायाधीश अधिकारी ०७५ साउन २ गते जिल्ला अदालत कालिकोट गएका थिए । सप्तरीमा कार्यरत रहँदा सामूहिक बलात्कारको एउटा मुद्दाको आदेशमा उनी आलोचित भएका थिए ।

न्यायपरिषद्मा परेको उजुरीमा न्यायाधीश अधिकारीले विभिन्न मुद्दामा आदेश र फैसला गर्दा रकम लिएको आरोपसमेत लगाइएको छ । स्रोतका अनुसार न्यायाधीश अधिकारीले फलफूल व्यापारी साहलाई बिचौलिया बनाएका थिए । फलफूल व्यापारी सागरकुमार राजविराजमा न्यायाधीश अधिकारीलाई निरन्तर भेट्ने गर्थे ।

न्यायाधीश अधिकारीले फलफूल व्यापारी सागरकुमारसित आफ्नो कारोबार भएको स्वीकार गरे । कान्तिपुरसित टेलिफोनमा उनले भने, ‘पैसा खराब नियतले लिएको होइन । म शाकाहारी मान्छे, फलफूल उनको पसलबाट खान्थेँ । त्यही क्रममा चिनजान भयो । मैले पैसा दिएको थिएँ, उनले फर्काएका हुन् ।’ यस्तै बर्दिया घर भएका न्यायाधीश अधिकारीले फलफूल व्यापारीलाई पाँच लाख रकम दिनु पर्नाको कारण सोध्दा भने बोलेनन् ।

मनोजकुमारले न्यायाधीश अधिकारी, फलफूल व्यापारी सागरकुमार साह, सुनीता साह र उनका भाइ विजयकुमार साहको मोबाइलको कल डिटेल्सबाट थप कुरा खुल्ने उल्लेख गर्दै रकम जम्मा गरेको बैंक भौचरसमेत उजुरीमा सामेल गरेका छन् ।
न्यायपरिषदका सूचना अधिकारी उपसचिव टेकनाथ गौतमले जिल्ला न्यायाधीश अधिकारीविरुद्ध उजुरी परिषदमा आए नआएको विषयमा बोल्न चाहेनन् । ‘परिषदमा उजुरी छानबिन हुन्जेल र तामेलीमा राखिएको अवस्थामा बोल्न मिल्दैन,’ गौतमले टेलिफोनमा भने ।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको