काठमाडौं, ७ बैशाख
मोरङ, काभ्रे, सिराहा, चितवन, बारा, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम)मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रवार मोरङको सुन्दरहरैचा नगरपालिका ३ त्रियुगा चोकस्थित सडकमा को.२६ प ३०९९ नम्बरको मोटरसाइकल अनियन्त्रित राति दुर्घटना हुँदा गम्भीर घाइते भएका ३५ वर्षीय धन कुमार राईको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।
यसैगरी काभ्रेको नमोबुद्ध नगरपालिका २ पात्लेगाउँस्थित बिपि राजमार्गमा बा.८६ प ३५२६ नम्बरको मोटरसाइकल र बा.३ ख ९४५३ नम्बरको बस शुक्रबार दिउसो एकआपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार अन्दाजी १५ वर्षीय लक्ष्मी मगरको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सेल्फिडाँडास्थित बिपि राजमार्गमा काभ्रेभन्ज्याङबाट भकुण्डेतर्फ जाँदै गरेको बा.३ ख ५३९६ नम्बरको टिफर सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा चालक धादिङ थाक्रे गाउँपालिका ७ बस्ने ४६ वर्षीय केदारबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको छ ।
सिराहा, धनगढीमाई नगरपालिकाको बनौलीस्थित लोकमार्गमा स.२ प ४७७ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले शुक्रबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ३५ वर्षीय रामनारायण यादवको उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
त्यसैगरी चितवन, राप्ती नगरपालिका १ पिप्लेमा ना.९ प ९९३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक मकवानपुर कांकड ५ बस्ने २७ वर्षीय गोपिलाल स्याङतानको घटना स्थलमै मृत्यु भएको छ ।
बाराको जितपुर सिमरा स्थित वीरगंज पथलैया सडकमा ना.५ ख ४१९७ नम्बरको ट्रकले ना.५१ प ४९८ नम्बरको स्कुटरलाई शुक्रबार राति ठक्कर स्कुटरमा सवार सिमरा उपमहानगरपालिका ३ बस्ने २१ वर्षीय सुशान्त कडेलको गण्डक हेल्थ केयर वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका २२ वर्षीय शम्भु साहको गण्डक हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधान र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी (पूर्व), बिनयी त्रिबेणी गाउँपालिका ५ पिडारीस्थित सडकमा ग.१ ज ३५३० नम्बरको जिप र पार्किङ गरी राखेको ग.१ ख ८२२१ नम्बरको टिपर शनिबार बिहान एकआपसमा ठोक्किँदा जीपमा झुण्डिई यात्रा गरिरहेका २५ वर्षीय पदम सुनाखरी मगरको घटनास्थलमै मृत्यु भएको छ । दुबै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी (पश्चिम), को सुनवल नगरपालिका १२ भुमही चोकस्थित सडकमा लु.२८ प ९८०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ७० वर्षीया लक्ष्मी पाण्डेको शनिबार दिउँसो मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुन पुग्नु भएकी लक्ष्मीको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा उद्दारको साथै थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

