भारतले प्रतिदिन कोरोना संक्रमणमा नयाँ रेकर्ड कायम गरेको छ। एकैदिन कोरोनाका ४ हजार ८ सय ८५ जना नयाँ संक्रमित थपिएपछि नयाँ रेकर्ड बनेको हो। यसक्रममा गुजरात राज्यमा एकैदिन १ हजार बढी संक्रमित फेला पर्ने दोश्रो राज्य बनेको छ।
यीमध्ये ७ सय ९ जना संक्रमित साता लामो परीक्षणपछि फेला परेका हुन्। उनीहरू सबै व्यापारी र विक्रेता भएको टाइम्स अफ इण्डियाले जनाएको छ। यसैगरी कोरोनाको संक्रमणबाट भारतमा सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा संक्रमितको अझै बढिरहेको छ।
त्यहाँ एकैदिन १६ सय ६ जना नयाँ संक्रमित फेला परेका छन् भने ६७ जनाको ज्यान गएको छ। त्यहाँ एकैदिन यतिधेरै मानिसको ज्यान गएको पहिलोपटक हो। हालसम्म भारतमा ९० हजार ६ सय ७४ जना कोरोना संक्रमित फेला परेका छन्। पछिल्लो तथ्यांक अनुसार दुई दिनको अवधिमा भारतमा १० हजार संक्रमित थपिएको टाइम्स अफ इण्डियाको समाचारमा उल्लेख छ।
शुक्रबारको दाँजोमा शनिबार भारतभर ११ सय बढी संक्रमित फेला परेका छन्। शनिबार देखिएको यो बढोत्तरीले गुजरात राज्यलाई १० हजारबढी संक्रमित हुने तेश्रो राज्य बनाएको छ। महाराष्ट्रमा संक्रमित संख्या ३० हजार माथि छ भने तमिलनाडुमा १० हजार ५ सय ८५ जना संक्रमित रहेका छन्। गुजरातमा भने संक्रमितको संख्या १० हजार ९ सय ८९ पुगेको छ।