प्रहरीले नागढुंगामा चेकिङका नाममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने एक जनालाई कारबाही गर्ने तयारी थालेको छ। शुक्रबार उक्त नाकाबाट काठमाडौं उपत्यका प्रवेश गर्न खोजेका प्रदेश-३ का जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीको गाडीलाई रोकेर केही व्यक्तिले सोधपुछ गरेका थिए।
आफ्नो परिचयपत्र देखाए पनि चन्द्रगिरिका उत्तम कार्कीलगायतले निर्देशक कार्कीको झोलासमेत खानतलासी गरेका थिए। उनले खिचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो भने विरोधसमेत भएको थियो। ‘आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर जाने जोकोहीलाई पनि कानुनी कारबाही हुन्छ,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने,’त्यस्ता हर्कतलाई नियन्त्रण गर्नु राज्यको कर्तव्य हुन्छ। त्यसमा कसैलाई पनि कुनै प्रकारको छुट हुँदैन।’ दुर्व्यवहार गर्ने उत्तम कार्कीको कुनै पनि परिचय पत्र नरहेको समेत खुलेको छ।

